बाढी पहिरोका कारण काठमाडौँ प्रवेश गर्ने सबै नाका अवरुद्ध

न्युजलय २३ साउन २०८०, मङ्गलबार ०४:०१ मा प्रकाशित

काठमाडौँ । अविरल वर्षापछि आएको बाढी पहिरोको कारण काठमाडौं प्रवेश गर्ने सबै सडक अवरुद्ध भएका छन्। 

काठमाडौं प्रवेश गर्ने मुख्य राजमार्ग नारायणगढ मुग्लिनसहितका सबै सडक बाढी पहिरोका कारण अवरुद्ध भएका हुन्।

नारायणगढ–मुग्लिन, बर्दिबास– सिन्धुली–बनेपा, हेटौँडा–कुलेखानी–बल्खु, कान्ति लोकपथसहित सबैजसो सडक पहिरोले अवरुद्ध हुँदा गएरातिदेखि नै काठमाडौं आवतजावत रोकिएको छ। 

सडक अवरुद्ध हुँदा हजारौँ यात्रु बीच बाटोमै अलपत्र परेका छन्। 

चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड मंगलबार बिहानदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।