इनरुवा, रामधुनी र इटहरीबारे रास्वपा उम्मेदवार थापाको टिप्पणीको आलोचना

न्युजलय १३ फाल्गुण २०८२, बुधबार ०९:४१ मा प्रकाशित

इटहरी । रास्वपाबाट सुनसरी क्षेत्र नं. २ का उम्मेदवार लालविक्रम थापाको अभिव्यक्तिलाई लिएर इनरुवा र रामधुनीवासी असन्तुष्ट बनेका छन् । इटहरीबारे उनको टिप्पणीको पनि आलोचना भइरहेको छ ।


मंगलबार इटहरीमा आयोजित पार्टीको प्रदेश स्तरीय सभामा बोल्दै उनले इनरुवा, रामधुनी अविकसित रहेको र इटहरीको मुख्य चोकको अवस्था पनि राम्रो नभएको बताएका थिए ।


‘इनरुवाको अवस्था कस्तो छ ? त्यहाँका युवाले म इनरुवाको वासिन्दा हो भनेर लेख्न पनि हिच्किचाइरहेका छन्,’ उनले भनेका थिए, ‘विराटनगर नजिक रहेको देवानगन्जको अवस्था पनि उस्तै छ । रामधुनीमा रामले धुनी तापिरहेको ठाउँ आज बाँदरले धुनी तापिरहेको छ । हामी यही हेर्न सुहाउँछ ?’


उनले कोशी प्रदेशको मुटु इटहरीको मुख्य चोक पनि मन रुने अवस्थाको रहेको बताएका थिए । उनले इटहरीको बाढीको कुरासमेत उठाएका थिए ।


उनले रास्वपाका सबै उम्मेदवारलाई जिताउनुपर्ने धारणा राख्दै एउटा मात्रै सिट तलमाथि भयो भने नेपाली जनता हार्ने धारणा व्यक्त गरे । उनले एक पटक रास्वपालाई परिक्षण गरिदिन आग्रह गरेका छन् ।


उनको ठाउँ विशेषको टिप्पणीलाई लिएर स्थानीयहरुले आपत्ती जनाएका छन् । इनरुवाका पत्रकार राजेन्द्र पोख्रेलले आफूलाई इनरुवावासी भएकोमा गर्व भएको र इनरूवा संसारकै सबैभन्दा प्यारो मनपर्ने ठाउँ भएको लेखेका छन् । उनले थापा इनरूवामा समाज बनाउने परिवारको नुन खाएर आज हाम्रो सार्वजनिक रूपमा अपमान गर्नेलाई बहिष्कार गर्न आह्वान गरेका छन् । 


नविन दाहालले लेखेका छन्, ‘ल तिमीले भनेको जस्तो लाज नै लाग्ने जस्तो इनरुवा चै छैन है । हो त्यो बेला थियो । अब राम्रो हुँदै छ । हामीलाई इनरुवा प्रति गर्व छ ।’


इनरुवाका शशी कोइरालाले रामधुनीमा बाँदरले धुनी तापेर बसेको भन्ने टिप्पणीप्रति आपत्ती जनाएका छन् । उनले थापा इसाइ भएकोले यस्तो भनेको आरोप लगाए । भने, ‘रामधुनीमा बाँदर धुनी तापेर बसेको छ भनेर लालविक्रम भाईले भन्नु स्वभाविक हो, किनकी उनी भगवान राम र हनुमान मान्ने धर्म मान्दैनन् ।’


यस्तै सुनसरी क्षेत्र नं. २ मा नेपाली काँग्रेसबाट उम्मेदवार इनरुवावासी राजिव कोइरालाले बिहानै इनरुवाका सुन्दर तस्वीरहरु सामाजिक सञ्जालमा पोष्ट गरेर साँकेतिक विरोध जनाएका छन् ।


इटहरीको मुख्य चोकमा अहिले पुर्वपश्चिम महेन्द्र राजमार्ग विस्तारको काम भइरहेको छ । निर्माणको बेलामा यस्तो हुनु स्वभाविक भएको भन्दै सामान्य विषयलाई लिएर ठाउँकै बद्नाम हुने गरी टिप्पणी गरिएको भन्दै विरोध जनाइएको छ ।


सामाजिक सञ्जालमा धेरैले उनलाई जनता स्कुलको जग्गा भाडा नतिरेको विषयमा प्रश्न सोधेका छन् । उनको कम्पनिले स्कुलको जग्गा भाडामा लिएवापतको पैसा तिर्न बाँकी छ । उनले पछि कम्पनि नामसारी गरेका थिए । तर उनी कम्पनिमा हुँदाकै समयको पैसा पनि तिरिएको छैन ।


सोही विषयमा उनको उम्मेदवारी खारेजीका लागि उजुरी पनि परेको थियो । तर निर्वाचन आयोगले दावी नपुग्ने भन्दै उजुरी खारेज गरिदिएको थियो । सुनसरीमा अहिलेसम्म भएका दुई वटा सार्वजनिक ककसमा थापा सहभागि भएनन् भने आफ्नो बाचापत्र सार्वजनिक गर्ने कार्यक्रममा समेत प्रश्नहरु राख्ने मौका नदिँदा त्यहाँ पुगेका पत्रकारहरु जिल्ल परेका थिए ।