एमाले जनप्रतिनिधिले इटहरीको नगरसभा छाडे, मेयरको उपस्थितीमा प्रवक्ताद्वारा बजेट प्रस्तुत

न्युजलय १० असार २०८१, सोमबार ०९:५७ मा प्रकाशित

इटहरी । इटहरी उपमहानगरपालिकाको नगरसभामा बहुमत सदस्य रहेका नेकपा एमालेका जनप्रतिनिधिले नगरसभा बहिष्कार गरेका छन् । 


बजेटमा कुरा नमिलेपछि उनीहरुले नगरसभा बहिष्कार गरेर हिडेका हुन् । एमालेका जनप्रतिनिधि हिडेपनि मेयर हेमकर्ण पौडेल एक्लैले नगरसभा अघि बढाएका छन् ।


दिउँसो १ बजे बोलाइएको बैठक राती ९ बजे सुरु भएको हो । त्यसअघि दिउँसो कार्यपालिका बैठक बसेको तर त्यसमा पनि गम्भीरतापुर्वक छलफल नभएको एमाले नगरसभा सदस्य प्रमोद शेर्पाले बताए । 


उनले राजस्व परामर्श समिति, योजना तर्जुमा समितिहरुको बैठकमा मेयर अनुपस्थित भएको, नगरसभाको अघिल्लो दिन कार्यपालिका बैठक बोलाएको, सिलिङसमेत नतोकेको र लापरवाहीपूर्ण बजेट प्रक्रिया अघि बढाएको आरोप लगाए ।


उपमहानगरको क्षमताअनुसारको तथ्यमा आधारित बजेट ल्याउनुपर्ने आफुहरुको अडान रहेको बताए । ‘यसअघि पनि हेर्दा राम्रो र ठूलो तर भित्र खोक्रो बजेट ल्याएकोले अहिले उपभोक्ता समितिहरुले दुःख पाएका छन्, कर्मचारीहरुले तलब पाएका छैनन्,’ उनले भने, ‘हामीले ३ अर्ब १० करोडको बजेट ल्याउने भन्यौं, वहाँ ४ अर्बको बजेट ल्याउन चाहने भएर कुरा मिलेन र हामी हिड्यौं ।’


एमाले जनप्रतिनिधिले छाडेपछि अहिले नेपाली काँग्रेसका जनप्रतिनिधिहरुको उपस्थितीमा मेयर पौडेलले नगरसभा अघि बढाएका छन् भने प्रवक्ता दिवस पोख्रेलले बजेट प्रस्तुत गरेका छन् ।


इटहरीमा मेयर र नेकपा एमाले जनप्रतिनिधिहरुबिच वादविवादको श्रृंखला पहिलेदेखिकै भएपनि बहुमत सदस्यले नगरसभा बहिष्कार गरेको र मेयर एक्लैले नगरसभा अघि बढाएर बजेट प्रस्तुत गरेको यो पहिलो घटना हो ।