माओवादीका नेताहरूलाई सामाजिक सञ्जालमा हरेक दिन दुईवटा स्टाटस लेख्न निर्देशन

न्युजलय २२ साउन २०८०, सोमबार ०४:१५ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारले गरेका कामका बारेमा जनतालाई सुसूचित गर्न सबै केन्द्रीय सदस्यले सामाजिक सञ्जालमा प्रत्येक दिन दुईवटा ‘स्टाटस’ पोस्ट गर्न निर्देशन दिएको छ। 

आइतबार सम्पन्न केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारका उपलब्धि र नीति र नेतृत्वको प्रतिरक्षामा जोड दिने सामग्री बिहान र बेलुका गरी दिनमा कम्तीमा दुईवटा ‘स्टाटस’ पोस्ट गर्नुपर्ने निर्णय गरेको हो।

त्यस्ता पोस्ट सार्वजनिक मिडियामा समाचार बन्ने सक्ने गरी कम्तीमा छ सात लाइनको हुनुपर्नेछ। माओवादीले पार्टीका सबै सदस्यलाई मर्यादित रूपमा पार्टीको पक्षमा सामाजिक सञ्जालमा सक्रिय हुन सर्कुलर गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

स्टाटस वा पोस्ट लेख्दा सभ्य र मर्यादित भाषाको प्रयोग गर्नुपर्ने, अरूको आलोचना र नकारात्मक टिप्पणीभन्दा आफ्ना नीति र उपलब्धिको प्रचारमा जोड दिनुपर्ने माओवादीले जनाएको छ।

यस्तै पार्टी केन्द्रीय कार्यालय र प्रधानमन्त्रीको सचिवालयले उत्पादन गरी पठाएका प्रचार सामग्री (स्टाटस, अडियो, भिडियो, ग्राफिक्स डिजाइन) प्रत्येक केन्द्रीय सदस्यले अनिवार्य पोस्ट गर्नुपर्ने माओवादीको निर्णय छ।