गाईलाई राष्ट्रिय जनावर घोषणा गर्नुपर्ने माग भारतको सर्वोच्च अदालतबाट खारेज

न्युजलय २५ असोज २०७९, मङ्गलबार ०२:२७ मा प्रकाशित

काठमाडौं । गाईलाई राष्ट्रिय जनावर घोषणा गर्न माग गर्दै भारतको सर्वोच्च अदालतमा दायर भएको निवेदन खारेज भएको छ ।


गाईलाई भारतको राष्ट्रिय जनावर घोषणा गर्न माग गर्दै भारतको गैरसरकारी संस्था गोवंश सेवा सदन लगायतले भारतको सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका थिए । तर न्यायाधीशहरुले अनावश्यक रिट दर्ता गराएको भन्दै खारेज गरिदिएका हुन् ।

 

रिट निवेदनमा गाईलाई मुलुकको राष्ट्रिय जनावर घोषणाका लागि सरकारलाई आदेश दिन माग गरिएको थियो । सुनुवाइका क्रममा न्यायाधीशहरु एस.के. कौल र अभय एस ओकाले गाईलाई राष्ट्रिय जनावर नबनाउँदा कुन मौलिक अधिकार प्रभावित भएको छ ? भनी निवेदकसँग प्रतिप्रश्न गरेका थिए । साथै उनीहरुले गाईलाई राष्ट्रिय जनावर बनाउने कि नबनाउने भन्ने कुराको फैसला गर्ने काम अदालतको नभएको बताएका थिए ।

 

निवेदनकर्ताको तर्फबाट पेश भएका वकिलले अदालतमा बहस गर्दै गाईको सुरक्षा निकै महत्वपूर्ण रहेको बताएका थिए । तर इजलासले उक्त रिट निवेदन अनावश्यक भएको भन्दै उल्टै जरिवाना लगाउने चेतावनी दिएपछि रिट निवेदनकले निवेदन फिर्ता लिए र अदालतले उक्त मुद्दा नै खारेज गरिदिएको छ ।


भारतको राष्ट्रिय जनावर पाटे बाघ हो ।