विराटनगर । मोरङ र झापाको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन्।
मोरङ, सुन्दरहरैचा नगरपालिका–३ बाट ब्राउन सुगर जस्तो देखिने पदार्थ ५१ ग्राम ६ सय ५० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ७ हजार रूपैयाँसहित सोही ठाउँ बस्ने ४८ वर्षीय नेत्र विनोद भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
यस्तै झापा, अर्जुनधारा नगरपालिका–११ स्थित गिरी बन्धु टि स्टेटको चिया बगानबाट लागूऔषध ब्राउनसुगर २ सय मिलिग्रामसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा बाह्रदशी गाउँपालिका–४ बस्ने ३० वर्षीय शुसिल तामाङ र सुनसरी इटहरी उपमहानगरपालिका–१७ बालग्राम बस्ने २६ वर्षिय भुवन गिरी रहेका छन्।
थप अनुसन्धानको क्रममा उनीहरुले उक्त लागूऔषध अर्जुनधारा नगरपालिका–११ बस्ने ४० वर्षीय बिनोद प्रधानसँग खरिद गरेको खुल्न आएपछि विनोदको घरबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय मिलिग्रामसहित फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ।
यी सबै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।