चितवन । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । चितवनमा भएको दशौं राष्टिय महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भएका हुन् ।
नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा २ हजार ९६ जना प्रतिनिधिले भोट हालेका थिए । अध्यक्षमा ओली भारी मत अन्तरले निर्वाचित भएका हुन् ।
निर्वाचन अधिकृत कमल पाठकका अनुसार ओलीले निर्वाचनमा १९०० मत ल्याएका छन् भने भीम रावलले १९६ मत प्राप्त गरेका छन् । उनले रावललाई १७०४ मत अन्तरले हराएका हुन् ।
अध्यक्षमा प्रतिस्पर्धा गरेका रावलले आफू अध्यक्षबाहेक अरु कुनै पदमा शपथ नलिने बताइसकेका छन् ।
ओलीले बन्दसत्रको दोस्रो दिन मध्यराति सर्वसम्मतिका लागि केन्द्रीय पदाधिकारी र सदस्यको नाम पढेर सुनाएका थिए । यद्यपि रावलसहित अरू तीन जना सदस्यको पदाधिकारीमा उम्मेदवारी परेपछि आज मतदान भएको थियो ।