झापा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको पक्षमा निडर भएर कलम चलाउन पत्रकारहरूलाई आग्रह गरेका छन् ।
बुधबार दिउँसो झापाको बिर्तामोडमा प्रेस चौतारी आबद्ध पत्रकारसँगको भेटघाट कार्यक्रममा उनले देशमा असत्य, छलकपट र षड्यन्त्र हाबी हुँदै गएको दाबी गर्दै सत्यको पक्षमा लेख्न प्रेस जगत्लाई आह्वान गरे ।
उनले भने, ‘बेथितिलाई रोक्न सत्यका पक्षधर कलमकर्मी निडर भएर मैदानमा उत्रिनुपर्छ ।’ एमालेलाई एक्ल्याउने निषेधको राजनीति नेपालमा भइरहेको उनको आरोप थियो ।
उनले यो देश गठबन्धनको मात्र हो जस्तो भइरहेको टिप्पणी गरे । पूर्वजले ज्यान दिएर जोगाएको देश र जनताको बलिदानबाट प्राप्त लोकतन्त्रको रक्षाका लागि पत्रकार जगतले संवेदनशील, सचेत र दृढ भएर कलम चलाउनुपर्नेमा उनको जोड थियो ।