नगर प्रहरीलाई हतियार : बालेन भर्सेस हेमकर्ण

न्युजलय २४ मङ्सिर २०८०, आइतबार ०८:५७ मा प्रकाशित

इटहरी । इटहरीका मेयर हेमकर्ण पौडेलले हालैको एक कार्यक्रममा नगर प्रहरीलाई हतियार आवश्यक भएको बताए । उनको यो भनाईको सामाजिक सञ्जालमा तीव्र आलोचना भयो । 


मंसिर २१ गते स्थानीय तहका न्यायिक समितिका प्रमुखको एक कार्यक्रममा प्रमुख अतिथीको रुपमा सहभागि भएका मेयर पौडेलले यस्तो कुरा बताएका हुन् । न्यायिक समितिको निर्देशन पालना गर्नको लागि नेपाल प्रहरीले माथिको आदेश भन्दै ढिलो गरेको र अदालतका न्यायधिशहरुले समेत न्यायिक समितिलाई सौताको व्यवहार गरेकोले आफ्नै हतियारसहितको प्रहरी स्थानीय तहलाई आवश्यक भएको उनको तर्क थियो ।


उनले यस्तो कुरा गरिरहँदा इटहरीमा थपिएका ३० जना नगर प्रहरीको लागि तालिम सञ्चालन भइरहेको छ । प्रतिष्पर्धाबाट छनोट भएका उनीहरुलाई तालिम दिने काम भइरहेको छ । 


इटहरीका मेयरले स्थानीय तहको न्यायिक समितिलाई हतियारसहितको नगरप्रहरीको आवश्यकता भएको बताएको भोलिपल्ट गत शुक्रबार काठमाडौमा पनि नगर प्रहरीलाई हतियार दिनुपर्ने प्रस्ताव स्थानीय वडाध्यक्षहरुले गरेका छन् । एक साताअघि बसन्तपुरमा नगर प्रहरीमाथि हातपात भएपछि वडाध्यक्षले उक्त प्रस्ताव कार्यपालिका बैठकमा लगेका थिए । स्थानीयको कुटपिटबाट प्रहरी ट्रमा सेन्टरमा भर्ना हुने गरी घाइते भएका थिए ।


नगर प्रहरीमाथि घटना घट्दा पनि प्रशासनले जिम्मेवारी नलिएको र नगरप्रहरी आफ्नै सुरक्षाको लागि पनि हतियार चाहिएको भन्दै वडाध्यक्षले खुकुरी दिनेगरी व्यवस्था गर्न माग गरेका थिए । 


जवाफमा मेयर बालेन शाहले नगर प्रहरी सुशासनको लागि भएको र नगर प्रहरीले धेरैमा ट्राफिक प्रहरीसम्मको जिम्मेवारी बहन गर्न सक्ने बताएका थिए । हतियार बोक्ने, अपराध अनुसन्धान गर्ने काम नगर प्रहरीकोमा नपर्ने बताउँदै उनले भने,‘नगर प्रहरीको सुरक्षा नेपाल प्रहरीले गर्नुपर्छ भन्ने बुझाइसम्म ठीकै छ।’ उनले नेपाल प्रहरीसँग कुरा गरेर अन्य केही उपाय लगाउने मेयर बालेनले कार्यपालिका बैठकमा बताएका थिए ।


नगर प्रहरीको भुमिकालाई यी दुई यी दुई युवा मेयरहरुले फरक तरिकाले व्याख्या गरेका छन् । तर दुवै प्रमुखहरु नगरप्रहरीको संख्या बढाउनुपर्ने कुरामा भने एकमत छन् ।


काठमाडौमा एसएसपीको नेतृत्वमा ३१७ जना प्रहरी छन् । तीमध्ये १४० जना निजी सुरक्षा कम्पनीबाट करारमा लिइएको हो । यो संख्या ५०० पुर्याउने लक्ष्य छ । त्यहाँ नगरप्रहरीले काठमाडौमा नगरप्रहरीले निकै प्रभावकारी तरिकाले फुटपाथ हटाउनेदेखि सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउनेसम्मका काम गरेको थियो ।


इटहरीले भने अहिले ३० जना थपेर नगर प्रहरीको संख्या ४५ पुर्याएको छ । इटहरीमा अझै नगरप्रहरी आवश्यक रहेको नगरप्रमुख पौडेल बताउँछन् ।