पहिचानवादीले देखाए ओलीलाई कालो झण्डा

न्युजलय २८ मङ्सिर २०८०, बिहिबार ०६:३७ मा प्रकाशित

विराटनगर । भोजपुरमा पहिचान पक्षधरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाएका छन् । भोजपुर बजारबाट धनकुटा जाने क्रममा ओलीलाई पहिचानवादीहरूले कालो झण्डा देखाएका हुन् । 

पहिचान पक्षधरहरूले एमाले पार्टी कार्यालयअगाडि विरोध प्रदर्शनसमेत गरेका छन् । कालो झण्डा देखाउने पहिचान पक्षधर नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

समाजवादी नेपालका सदस्य तथा लिम्बूवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले​का अनुसार पक्राउ पर्नेमा जसपा भोजपुरका जिल्ला उपाध्यक्ष मन्जु राई जिल्ला सदस्य दिनेश राई, धिरज राई, मणि राई, विद्यार्थी नेता धिरेन खिम्बू, तयाबङु राई र विकास रहेका छन् । यस्तै धनकुटामा बन्द गर्दै हिँड्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

उनीहरूलाई धनकुटा र भोजपुरको सीमवर्ती लेगुवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ  ।