परस्त्रीसँग जंगलमा भेटिएका बस्नेतलाई स्वास्थ्य शाखा प्रमुखबाट हटाइयो

न्युजलय १२ असोज २०८०, शुक्रबार ०६:१६ मा प्रकाशित

झापा । झापाको अर्जुनधारा नगरपालिकाले सिनियर अहेव मुकुन्द बस्नेतलाई स्वास्थ्य शाखा प्रमुखको जिम्मेबारीबाट हटाएको छ । 


शुक्रबार बसेको शनिश्चरे अस्पताल व्यवस्थापन समितिको बैठकले बस्नेतलाई अर्को व्यवस्था नभइञ्जेलसम्म शाखा प्रमुखको जिम्मबारीबाट हटाउन नगरपालिकालाई सिफारिस गर्ने निर्णय गरेको हो । 


बस्नेतलाई नगरकै स्वास्थ्य शाखामा कार्यरत एक महिला कर्मचारीसँग आफ्नै श्रीमतीले जंगलमा भेटेपछि घटना सार्वजनिक भएको हो । सोही घटनालाई व्यवस्थापन समितिको सिफारिसको आधारमा बस्नेतलाई आजैको मितिदेखि स्वास्थ्य शाखा प्रमुखको जिम्मेबारीबाट हटाएको नगरपालिकाले जनाएको छ । 


शनिश्चरे अस्पताल व्यवस्थापन समितिका सदस्यसमेत रहेका बस्नेतलाई लिखित स्पष्टिकरणका लागि ३ दिनको म्याद पनि दिइएको छ । यसैगरी, घटनामा संलग्न भनिएकी महिला स्वास्थ्यकर्मीलाई पनि स्पष्टिकरणका लागि ४८ घण्टाको समय दिएको अस्पताल व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ । 


यता बस्नेतले भने लेनदेनको विषयमा सडकको किनारमा बसिरहेका समयमा कसैले आफ्नी श्रीमतीलाई उकासेर घटना भएको बताएका छन् । उनले श्रीमती, भिडिओमा देखिएकी ती युवती र आफूसमेत भएर पत्रकार सम्मेलन गर्ने तयारी गरिरहेको जानकारी दिए ।