खुकुरी प्रहार गरी भाइले गरे दाइको हत्या

न्युजलय ३० जेठ २०८०, मङ्गलबार ०४:५७ मा प्रकाशित

काठमाडौँ । काठमाडौँको ओमबहालमा खुकुरी प्रहार गरी भाइले दाइको हत्या गरेका छन् । काठमाडौँ महानगरपालिकाÞ–२३ ओमबहालमा सोमबार राती भाइले दाइको हत्या गरेका हुन् । 

प्रहरी वृत्त जनसेवाकाअनुसार घटना गत राती १२ बजेतिरको हो  यद्यपि प्रहरीलाई भने बिहान ८ः३० बजे मात्रै खबर आएको थियो । दाइ र भाइबीच झगडा भएपछि भाइले धारिलो हतियारले प्रहार गरी दाइको हत्या गरेको पाइएको छ । 

काठमाडौँ महानगरपालिका –२३ का २५ वर्षीय सुरज शाक्यले आफ्नै दाइ ४५ वर्षीय सूर्य शाक्यको हत्या गरेका हुन् । मदिरा सेवन गरी घर आएका दाइ सूर्यले आमालाई गालीगलौज गर्न थालेपछि भाइ सुरज शाक्यले धारिलो हतियार प्रहार गरी दाइको हत्या गरेका थिए ।

धारिलो प्रहार प्रयोग गरे लगत्तै भाइले दाइको कोठाको बत्ती निभाएर माथिल्लो तलामा गएर सुतेका थिए । घटनाबारे परिवारका सदस्यहरूलाई राती नै थाहा भएको भएपनि प्रहरीलाई भने बिहान मात्रै जानकारी आएको हो । 

हत्यापछि फरार भएका भाइ सुरजलाई प्रहरीले बाङ्गेमुढाबाट नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।