सुनकोशी जीप दुर्घटनाः बेपत्ता तीन जनाको अवस्था अझै अज्ञात

न्युजलय २० जेठ २०८०, शनिवार ०७:४९ मा प्रकाशित

काठमाडौं । सुनकोशी नदीमा जीप खस्दा बेपत्ता भएका तीन जनाको अवस्था अझै अज्ञात रहेको छ । 

शुक्रबार सानोठिमी भक्तपुरबाट खोटाङ जाँदैगरेको सिटीइभीटीको सरकारी बीएबी ७४६७ नम्बरको स्कारपीयो सिन्धुलीको गोलाञ्जोर गाउँपालिका–६ स्थित् सुनकोशी नदीमा खसेको थियो ।

स्कारपीयोमा सवार ४ जनाहरूमध्ये चालक कृष्णबहादुर चौधरी पौडिएर निस्कन सफल भएका थिए भने अन्य ३ जनाको अवस्था अझै अज्ञात रहेको सिन्धुली जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

गाडीमा सवार सिटीइभीटीका सहसचिव कृष्णबहादुर केसी, योजना महाशाखाका निर्देशन यमप्रसाद भुर्तेल र विद्युत प्रशिक्षक भानु पौडेलको अवस्था अज्ञात रहेको छ।

स्कारपीयो मध्यपहाडी लोकमार्गभन्दा करिब १५० मिटर तल सुनकोशी नदीमा खसेको हो । स्थानीय र प्रहरीले उनीहरुको खोजी तीब्र बनाए पनि अझैसम्म अवस्था पहिचान हुन सकेको छैन ।