महिलाका लागि मात्र यातायात सञ्चालन गरेर विभेदलाई प्रश्रय : शंकर पोख्रेल

न्युजलय १८ साउन २०८०, बिहिबार ०५:५९ मा प्रकाशित

काठमाडौं । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरु गरेको महिला बसलाई लिएर देशव्यापी बहस सृजना भएको छ । महिलाहरुको लागि यो निःशुल्क सार्वजनिक बसलाई कतिले सकारात्मक रुपमा लिएका छन् भने कतिले नकारात्मक रुपमा लिएका छन् । नेकपा एमालेका महासचिव शंकर पोखरेलले यातायातले सामाजिक विभेदलाई प्रश्रय दिने बताएका छन्।


रास्वपाका सभापति रवि लामिछानेले आफू निर्वाचित भएको १०० दिन पुगेको अवसरमा बुधबार चितवनमा शुरु गरेको महिलाका लागि सार्वजनिक यातायातबारे टिप्पणी गर्दै पोखरेलले सामाजिक विभेद अन्त्य गर्न विगतमा महत्त्वपूर्ण भूमिका खेलेको चितवनमा यो कदमले सकारात्मक सन्देश नदिने बताएका छन् । 


 ‘अहिले युवाको ठूलो संख्या रोजगारीका शिलशिलामा विदेशिएका वेला ठूलो संख्यामा महिला परिवारको मूलीको रूपमा भूमिका निर्वाह गरिरहेका छन्’, सामाजिक सञ्जालमा उनले प्रश्न गरेका छन्, ‘यस्तो अवस्थामा आफूलाई नयाँ शक्ति भन्नेहरूले कस्तो समाजको परिकल्पना गरेर महिलाका लागि मात्र भनेर सार्वजनिक यातायात सञ्चालन गर्न खोजेको होलान् ?’


पोखरेलले रास्वपाका अध्यक्ष लामिछानेले भोटको सस्तो राजनीति गर्न खोजेको समेत आरोप लगाएका छन् ।