काठमाण्डौ । ३१ वर्षअघि बन्द गरिएको प्रतिजासुसी संयन्त्र पुनः ब्युँताइएको छ ।
राष्ट्रिय सुरक्षा तथा सार्वभौमसत्ताविरुद्ध विदेशी देशबाट हुने गतिविधि बढेको भन्दै त्यसको नियमन र नियन्त्रणका लागि राष्ट्रिय अनुसन्धान विभागले प्रतिजासुसी इकाइ सक्रिय बनाएको हो ।
पहिला पनि विभागमा यस्तो संयन्त्र भएकोमा ०४७ मा बन्द गरिएको थियो । नेपाल विशेष सेवा ऐनमा नभए पनि नियमावलीमा रहेको प्रावधानमा टेकेर यससम्बन्धी छुट्टै शाखा स्थापना गरी निगरानी र नियमनको काम सुरु गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार गुप्तचरको प्रजिसासुसी संयन्त्रले प्रभावकारी रूपमा काम गर्न थालेको छ ।
विभागबाट आएका प्रतिजासुसीसम्बन्धी सूचनाले विदेशी देशहरूबाट नेपालमा गोप्य रूपमा भएका कतिपय गतिविधि रोकिएको बताइएको छ । हाल विभाग प्रत्यक्ष रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मातहत छ ।
तराईका जिल्लामा धार्मिक हिंसा भड्काउन भएको चलखेल तथा साइबर आक्रमणजस्ता विषयमा संवेदनशील सूचनाले सम्भावित गतिविधि रोकिएको स्रोत बताउँछ ।
०४६ मा तत्कालीन राजा वीरेन्द्रले विदेशी गतिविधि बढेपछि त्यसलाई नियन्त्रण गर्न छुट्टै कार्यालय स्थापना गरेका थिए । तर, उक्त कार्यालय ०४७ चैतमै विघटन गरिएको थियो । त्यसयता पटक–पटक प्रतिजासुसी संयन्त्र बनाउन प्रयास हुँदै आए पनि विदेशीकै दबाबमा रोकिँदै आएको बताइएको छ ।