काठमाडौँ । नेपाल प्रहरीको लागि किन्न लागिएको ८४ करोड रुपैयाँको हतियार खरिदका पछाडि बिचौलियाको हात रहेको खुल्न आएको छ । बिचौलिया दीपक भट्टले हतियार खरिद गर्न सरकारी अधिकारीसमक्ष ‘डिल’ गरेको भिडियो सार्वजनिक भएको छ ।
कान्तिपुर टेलिभिजनले सार्वजनिक गरेको भिडियोमा भट्टले हतियार खरिद गराउन सरकार, संसद्, लेखासमिति, राज्य व्यवस्थापन समितिलगायत विपक्षी दलका नेता, छिमेकी देश र आवश्यक परे अरू जोकोहीलाई मिलाउने ‘जिम्मा’ लिएका छन् । उनले भिडियोमा पैसा दिनुपर्नेबाहेकका अरू कसैलाई घुमाउन टिकट काट्नुपर्ने, कसैका छोराछोरीको भर्ना गरिदिनुपर्ने भन्दै शक्ति केन्द्रलाई प्रभावमा पार्ने योजनासमेत सुनाएका छन् ।
सरकारले अहिले उनकै प्रभावमा इटालीको बेरेटा कम्पनीका एजेन्टमार्फत १,१५० थान सटगन, हजार थान पेस्तोल, २५ हजार थान ग्यास सेलसहित गोलीगट्ठा किन्ने गृहकार्य अगाडि बढाइरहेको छ । त्यसका निम्ति तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले ८४ करोड रुपैयाँ बजेट रकमान्तर गरिदिएका थिए ।
भट्टकै जोडबलमा अर्को साढे चार अर्ब खर्च गरी दुई हेलिकोप्टर खरिद गर्ने प्रयास पनि जारी छ । भट्टले अर्थमन्त्री र प्रधानमन्त्रीलाई प्रभावमा पारेर हतियार किन्न मनाएको बताइएको छ ।
बिचौलियाकै भूमिकाका रूपमा भट्टले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण गराउनसमेत सहजीकरण गरेका जानकारहरूको भनाइ छ । त्यसको ‘पुरस्कार’स्वरूप तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले उनका दाइ सुशील भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत बनाइदिएको थियो ।
यता भट्टले भने प्रतिष्पर्धामा आफू पनि कानुनअनुसार सहभागि भएको बताएका छन् । उनले भिडियोबारे आफूलाई थाहा नभएको बताएका छन् ।
भिडियो –