मेयर उम्मेदवार ढकालविरुद्ध काँग्रेसभित्रै तीव्र असन्तुष्टि, भन्छन् ‘मेयर आफैले माहोल बिगार्नुभो’

न्युजलय १६ बैशाख २०७९, शुक्रबार ११:३४ मा प्रकाशित

सुन्दरहरैँचा । स्थानीय तहको निर्वाचन र प्रमुख उपप्रमुख पद पछिल्लो समय राष्ट्रिय राजनीति गर्ने नेताहरुको लागिसमेत आकर्षक मानिने गरेको छ । टिकट पाउन लामो लबिङ र रस्साकस्सी नै चल्ने गरेको छ । तर मोरङ्गको सुन्दरहरैँचा नगरपालिकामा भने उपमेयर पदको लागि सिफारिसमा परेकी एक जना नेतृले भने उम्मेदवारी नै दर्ता गराइनन् ।

सुन्दरहरैंचा नगरपालिकाको लागि नेपाली काँग्रेस प्रदेश १ समितिले शिवप्रसाद ढकाललाई मेयरमा र इशरवतीकुमारी माझीलाई उपमेयरमा मनोनयन गर्ने निर्णय गरेको थियो । तर मेयरमा ढकालले उम्मेदवारी दर्ता गरेपनि उपमेयर माझीले भने दर्ता गराइनन् । आखिर किन ?

नेपाली काँग्रेस सुन्दरहरैंचा समिति र नेपाली काँग्रेस प्रदेश समितिको निर्णयविपरीत मेयरका उम्मेदवार ढकालले आफूखुसी गठबन्धनको लागि उपमेयर उम्मेदवार माझीलाई ब्याक सारेको खुलेको छ । काँग्रेस उम्मेदवार ढकालले माओवादी उम्मेदवार नवराज चापागाईलाई उपमेयरमा समर्थन गर्ने भनेर सेटिङ गरिएको हो । जसको विरुद्ध तीव्र असन्तुष्टि नेपाली काँग्रेसभित्र चुलिएको छ ।

यता माझीले भने आफूले उम्मेदवारी दिन लाग्दा फर्म र उम्मेदवारीको चिठी नै हराएको र पार्टीका कसैले पनि सहयोग नगरेपछि उम्मेदवारी दिन नपाएको गुनासो गरेकी छिन् । उनले आफूलाई नगरपरिषदको सदस्य बनाउने भन्दै उपमेयरको उम्मेदवारी नदिन प्रस्ताव आएको बताउँदै न्युजलयसँग भनिन्, ‘तर गठबन्धनको टुंगो नभएपछि मैले उम्मेदवारी दिन लाग्दा फर्म र चिठी नै हराएपछि उम्मेदवारी दिन पाइनँ ।’ 

उपमेयरको मनोनयनमा परेकी माझीलाई नगर परिषद्को सदस्यमा लाने आश्वासन दिएपछि उनी ब्याक भएको स्रोतको दावी छ । तर माझीले भने आश्वासन पाएर ब्याक नभएको बताइन् ।

उपमेयर उम्मेदवार नै गायब बनाइएपछि पार्टी असमन्जसमा परेको छ । पार्टीको नगर, तथा जिल्ला तहसँग समन्वय नै नगरि ढकालले आफूखुसी गठबन्धन बनाउँदै अघि बढ्न खोजेको पार्टी नेता, कार्यकर्ताहरुको आरोप छ । 

मेयर उम्मेदवार ढकालले आफूसहित दुईवटा वडामा वडाध्यक्ष र २० जना वडा सदस्य लिएर अरु ठाउँका लागि गठबन्धन गर्न खोजेको स्रोतले बताएको छ । पार्टीमा छलफल नै नगरी आफ्नो स्वार्थको लागि ढकालले उपमेयरको उम्मेद्वारी ब्याक सारिएको नगर समिति कोषाध्यक्ष शंकर बजगाईको आरोप छ । त्यसैले नगर समितिले गठबन्धनलाई मान्यता नदिने जनाएको छ ।

बजगाईले न्युजलयसँग कुरा गर्दै मेयर उम्मेदवार ढकाल पार्टी र पार्टीको विधिभन्दा माथि बस्न खोजेको आरोप लगाएका छन् । ‘पार्टीले मेयर र उपमेयरमा गठबन्धन हुँदैन भनेर स्पष्ट भनिसकेको समयमा आफूलाई केन्द्रमा राखेर उपमेयरको उम्मेदवारी फिर्ता गराउनु गलत हो,’ उनले भने ।

उनले मेयर उम्मेदवार ढकालको काम ‘कुकुरले पुच्छर होइन, पुच्छरले कुकुर हल्लाउने’ सिस्टम भइसकेको बताएका छन् । ‘पार्टीको जिल्ला, प्रदेश, केन्द्र समिति छ, तर पार्टीभन्दा व्यक्ति माथि हुन खोजेपछि समस्या भएको हो,’ उनले भने, ‘काँग्रेस एक्लैको भोटले जित्ने अवस्थालाई आफैले बिगार्नुभयो ।’ उनले जोसुकैसँग गठबन्धन गरिएपनि काँग्रेसको भोट मेयरलगायत काँग्रेसका उम्मेदवारलाई मात्र जाने दावी गरे ।

सीमान्तकृत समुदायको प्रतिनिधित्व गर्ने माझीलाई उम्मेदवार हुनबाट रोकेर ढकालले नगरको निम्न तथा पछि पारिएका समुदायलाई अवसरबाट वञ्चित गरेको आरोप नेपाली काँग्रेसकै नेताहरुले लगाएका छन् । विगतमा मेयर हुँदा पनि एकलौटी अघि बढेको भन्दै मेयर ढकालको आलोचना पार्टीभित्रै पनि हुने गरेको थियो । त्यसैले यो पटक उम्मेदवार छनोटमा उनी नगर तथा जिल्ला समितिको रोजाइमा परेनन् । पछि ‘पावर’ लगाएर केन्द्रको सिफारिसमा टिकट लिएर आएपछि स्थानीय नेतृत्वसँग उनको सम्बन्ध झनै चिसिएको हो ।

‘पार्टी नेता कार्यकर्तामा चर्को असन्तुष्टी छ,’ अर्का एक नेताले भने, ‘पार्टीको सिंगो पंक्तिलाई बायस गर्दै अघि बढेर कसैले जित्न सक्दैन ।’ काँग्रेसको ठूलो समुहले ढकाललाई असहयोग गर्ने योजना बनाएको छ । ‘पार्टीको नीति, विधि नमान्ने उम्मेदवारलाई हामी पार्टीका निष्ठावान कार्यकर्ताहरुले सहयोग गर्न सक्दैनौं,’ एक स्थानीय नेताले भने  ।

यता ढकालसँग यो विषयमा कुरा गर्नको लागि फोन गर्दा उनी व्यस्त भएको उनका सहयोगिले जवाफ दिएका छन् । तर पार्टीसमितिले आफूलाई असहयोग गर्ने बुझेपछि ढकालले गठबन्धन गर्न खोजेको उनी निकटहरु बताउँछन् ।