काठमाडौँ । सरकारले अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग भएको सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभामा टेबुल गर्ने तयारी थालेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि (बुधबार) बिहान ११ बजेलाई तय भएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारका तर्फबाट प्रस्ताव राख्न कानूनमन्त्री दिलेन्द्र बडूलाई निर्देशन दिएको स्रोतले बतायो।
प्रधानमन्त्री देउवाले अझैपनि गठबन्धन आबद्ध दलहरूसँग सहमतिको अन्तिम प्रयास गर्ने तर फागुन १६ अगाडि नै संसदबाट निर्णय गराउने तयारी थालेका हुन् ।
प्रधानमन्त्रीले सहमति जुटाउने पहलसँगै एमसीसीलाई सरकारको तर्फबाट औपचारिक रुपमा संसद्मा टेबुलका लागि सभामुखसँग माग गर्न कानूनमन्त्री बडू र सहमति निमार्ण गर्न सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई निर्देशन दिएका हुन् ।
एमसीसीका सन्दर्भमा सबैका धारणा फरक रहेकाले प्रधानमन्त्रीको चाहना मुख्य दलहरूबीच सहमति बनाएर संयुक्त रूपमा एमालेसहित प्रस्ताव पठाऊँ भन्ने रहे पनि अब त्यो संसदबाहिर निष्कर्ष ननिस्कनेमा प्रधानमन्त्री देउवा पुगेको निकट स्रोतले जनायो।
प्रधानमन्त्री निकट एक मन्त्रीका अनुसार प्रतिपक्षी दल एमालेसमेत एमसीसी संसद्मै छलफल गर्ने पक्षमा भएपछि त्यही छलफल गरी निर्णय लिन सरकारले रोक्न नहुनेमा प्रधानमन्त्री देउवा छन्।