बालिका बलात्कृत भएपछि ५ वर्षदेखि सञ्चालन हुँदै आएको बालगृह बन्द

न्युजलय ४ पुस २०७८, आइतबार ०५:२९ मा प्रकाशित

काठमाण्डौ ।  रुकुम पश्चिम आठबीसकोट नगरपालिका–९ स्थित सिस्ने हिमाल बालगृह बन्द भएको छ ।

२०७४ सालमा अभिभावकविहीन, संरक्षणविहीन र समस्यामा परेका बालबालिकालाई आश्रय दिन बालगृह स्थापना गरिएको थियो । बालगृह सञ्चालकका छोराले बालगृहमा रहेकी एक बालिकामाथि बलात्कार गरेको घटना सार्वजनिक भएपछि बाल गृह बन्द गराइएको हो ।

एक महिनाअघि उक्त घटना सार्वजनिक भएकै दिन आठबीसकोट नगरपालिकाले बाल गृहका बालबालिकालाई अन्यत्र स्तानान्तरण गरेको थियो । उनीहरूलाई अहिले राष्ट्रिय बाल अधिकार केन्द्र काठमाडौंमा पठाइएको छ । 

बालगृह सञ्चालक सुनिता चनाराका छोरा २२ वर्षीय कुश्माकर चनाराले १३ वर्षीया बालिकामाथि बलात्कार गरेर गर्भसमेत रहेको सार्वजनिक भएपछि उक्त बालगृहमाथि हस्तक्षप गरी बालबालिकालाई अन्यत्रै सारिएको थियो । 

नगरपालिकाको न्यायिक समितिमा गएर बालिकाले आफूमाथि बलात्कार भएको बताएकी थिइन् । स्वास्थ्य परीक्षणमा उनको पेटमा गर्भ रहेको पुष्टि भएको थियो । त्यसलगत्तै नगरपालिकाले प्रहरी र प्रशासनलाई चिठी लेखेर कारबाही गर्न पत्राचार गरेको थियो ।

सोही पत्रको आधारमा प्रहरी छानविन थालेको थियो । तर घटनालगत्तै फरार रहेका आरोपी चनारालाई अझै पक्राउ भने गरिएको छैन । का अनुसार घटनाबारे थप अनुसन्धानसमेत भइरहेको छ ।

बाल गृहमा १४ बालबालिका थिए ।