हिजाब प्रतिबन्धले कर्नाटकमा हंगामा, कलेजहरु ३ दिन बन्द

न्युजलय २६ माघ २०७८, बुधबार ०९:०८ मा प्रकाशित

काठमाडौं । भारतको कर्नाटकको एक कलेजमा विद्यार्थीहरुले हिजाब लगाउन नपाउने भएपछि हंगामा शुरु भएको छ। ६ मुस्लिम विद्यार्थी यसको विरुद्धमा हप्ताअघिबाट प्ले कार्ड बोकेर उत्रिएका छन् भने कलेजमा दिनभरजस्तो जुलुस भइरहेको छ।


यहाँको उडुपीमा ६ जना मुस्लिम विद्यार्थीलाई विद्यालयको नयाँ पोशाक नीति अनुसार हिजाब लगाउन प्रतिबन्ध गरिएको थियो। उक्त घटनासँगै जनवरी १ बाट हिजाबबारे विवाद शुरु भएको हो। यसैगरी कुन्डापुर कलेजमा पनि यसबारे विवाद भएको थियो।


मुस्लिम समुदायले पहिरने हिजाब लगाएर कलेज आउन नपाउने नियम विवादमा परेपछि त्यहाँको सरकारले विद्यालयहरु ३ दिनका लागि बन्द गरेको छ। पाकिस्तानी नोबल पुरस्कार विजेता मलाला युसुफजाइले विद्यालयमा हिजाब लगाउन नपाउने नियम डरलाग्दो भएको बताएकी छिन्। यस्तो विषयमा भारतीय नेताहरुले सोच्नैपर्ने मलालाले बताएकी छन्।


हिजाब प्रतिबन्धको घटनाले निम्त्याएको विवाद अहिले उच्च अदालतमा पुगेको छ। हिजाब लगाउन पाउने धार्मिक हक भएको र यो संवैधानिक हक भएको उल्लेख गर्दै विद्यार्थीहरुले उच्च अदालतमा निवेदन दिएका हुन्। कर्नाटक उच्च अदालतमा बुधवार पनि यसबारे सुनुवाई हुने बताइएको छ।


कर्नाटकको एक कलेजमा हिजाब लगाएर विद्यार्थीलाई प्रवेश रोकेको एक भिडियो सार्वजनिक भएसँगै विवाद थप चर्केको बताइएको छ।