काठमाडौं । यस वर्षको मनसुन नेपाल भित्रिएको छ । आज (बुधवार) नेपालको कोशी प्रदेश, पूर्वी मधेश, बागमती प्रदेशका अधिकांश भू–भाग र गण्डकी प्रदेशका पूर्वी भू–भागमा मनसुन आगमन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस वर्षको मनसुन सरदर मिति भन्दा १ दिन ढिलागरी नेपालमा प्रवेश गरेको हो । नेपालको अन्य भू–भागहरूमा भने केही दिनमा क्रमिक रूपमा मनसुन अगाडि बढ्ने महाशाखाले जनाएको छ ।
यस वर्ष देशका अधिकांश स्थानमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ ।
लामो समयदेखि पानी नपर्दा देशका अधिकांश भूभागमा गर्मी बढेको थियो । मनसुन भित्रिएसँगै पानी पर्ने र गर्मी कम हुने अनुमान छ ।