काठमाडौं । काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर मंगलबारदेखि उठाइँदैछ।
सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, धुनिवेशी नगरपालिका धादिङ तथा ककनी गाउँपालिका नुवाकोटका प्रतिनिधिबीच सोमबार भएको सहमति अनुसार मंगलबारदेखि फोहोर उठाउन लागिएको हो।
सहरी विकासमन्त्री रामकुमारी झाँक्री, काठमाडौं महानगरका मेयर बालेन्द्र शाहसहित प्रभावित क्षेत्रका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरुको रोहबरमा यो सहमति भएको हो । सहमतिअनुसार फोहोरलाई स्रोतमै छुट्याउने प्रक्रिया सुरु गर्दै हाल उपत्यकामा थुप्रिएका फोहोरलाई अहिलेकै अवस्थामा बढीमा असार मसान्तसम्म उठाई लैजानका लागि मंगलबारदेखि नै उठाउने र माटोले फोहोर छोप्ने व्यवस्था मिलाइनेछ।
यस्तै प्रभावित क्षेत्रका स्थायी बासिन्दालाई नेपाल स्वास्थ्य बीमा बोर्डबाट विधि र प्रक्रिया पूरा गरी दोहोरो नपर्ने गरी स्वास्थ्य बीमा गर्ने कामको सुरुवात एक हप्ताभित्र गर्ने प्रतिबद्धता जनाएको छ।
प्रभावित क्षेत्रका वडाहरुको पूर्वाधार विकासका लागि विगतमा उपलब्ध गराउँदै आएको अनुदानलाई निरन्तरता दिने सहमति भएको छ। यस्तै, सहरी विकास मन्त्रालयले बन्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्रमा मन्त्रालयबाट आगामी आर्थिक वर्षका लागि विभिन्न ५ वटा सडकका लागि ४२ करोड ५० लाख, नदी नियन्त्रण कार्य, सामुदायिक भवन, मन्दिर निर्माण र वृक्षरोपण कार्यक्रमका लागि १ करोड ७० लाख विनियोजन गरिएको जनाएको छ।