काठमाडौँ । साउदी अरब पुगेका ४८ जना नेपाली युवा अलपत्र परेका छन् ।
आकर्षक रोजगारीको प्रलोभनमा परेर दलालमार्फत साउदी अरब पुगेका ४८ जना नेपाली युवा विगत तीन चार दिनदेखि भोकभोकै छटपटाई रहेका छन् ।
काठमाडौँमा रहेको टोकियो ओभरसीज, वर्क फोर्स सर्भिसेज र डि प्रोटोन म्यानपावर प्रालि मार्फत साउदीको रियादस्थित अलमराजमा रहेको डेलिभरी टाइम कम्पनीमा पोल्टी फर्मको काममा भनेर त्यहाँ पुगेका थिए ।
म्यानपावरले सम्झौता गरेअनुसारको काम र तलब नपाए पनि जस्तो तसो काम गरिरहेका उनीहरूलाई कम्पनीमा कार्यरत एक जना नेपाली गणेश कार्की आएर अर्को ठाउँ काम गर्नु पर्ने भयो भन्दै सात जनालाई लिएर गएको र उनीहरूलाई अर्को ठाउँमा काम नलगाई जेलमा हालेपछि आफूहरूले काम बन्द गरेको सुनसरीका महमद राम्जान मियाले बताए ।
कम्पनीले बिना कारण साथीहरूलाई जेल हालेपछि आफूहरूले काम बन्द गरेको र अहिलेसम्म किन काममा नआएको भनेर सोध्न पनि कोही नआएको उनले बताए । उनीहरूले काम बन्द गरेपछि कम्पनीले नयाँ मान्छे हालेको र उनीहरूलाई निकालेपछि अहिले केही दिनदेखि भोकभोकै खाना नपाएर धेरै नेपाली युवाहरूको रुवाबासी भएको मियाले बताए ।
म्यानपावरले पनि अहिलेसम्म सम्पर्क नगरेको र आफूहरूले पटक–पटक सम्पर्क गर्दा पनि फोन नउठाएको उनीहरूले बताए । सबै साथीहरू हरेस खाइसकेको भन्दै तत्काल उद्धार नगरे सबैले देहत्याग गर्ने उनीहरूले बताए ।
रियादस्थित नेपाली दूतावासमा सम्पर्क गर्दा समस्या सुनेर नबोली फोन काट्ने गरेको उनीहरूको आरोप छ । काम गरेको दुई महिना १० दिनको तलब समेत नपाएको बताएका छन् । उनीहरूले म्यानपावर तथा विभिन्न एजेन्टहरुलाई प्रतिव्यक्ति १ लाख ८० हजारदेखि २ लाखसम्म बुझाएर करिव ७ महिनाअघि मात्र साउदी पुगेका थिए ।