काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आउँदो निर्वाचनपछि जनताले माओवादीकै हातमा देशको चाबी दिने दाबी गरेका छन् ।
पेरिसडाँडामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा गरेका हुन् । प्रचण्डले माओवादी आन्दोलन पुनः एकपटक पुनजागृत भएर आउने सम्भावना रहेको बताए ।
उनले माओवादी पार्टी र आन्दोलन कमजोर भए देशमा प्राप्त भएका परिवर्तन तथा उपलब्धि गुम्न सक्ने भएकाले इमान्दार भएर जनतामा जान पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
उनले जनयुद्ध र जनआन्दोलनका बलमा स्थापित संविधान, समावेशी समानुपातिक प्रतिनिधित्वलगायतका उपलब्धिमाथि निरन्तर प्रहार भएको भन्दै त्यसलाई जोगाउन पनि माओवादी बलियो हुनैपर्ने बताए ।