भारतको उत्तर प्रदेशमा चार जना दलितको हत्या

न्युजलय ११ मङ्सिर २०७८, शनिवार ०९:११ मा प्रकाशित

काठमाडौं । भारतको उत्तर प्रदेशमा दलित परिवारका चार जनाको हत्या भएको छ ।


प्रयागराजको मोहनजङ्ग गोवरी गाउँमा हिजो एकै परिवारका चार जनाको बन्चरो प्रहार गरी हत्या भएको बीबीसीले जनाएको छ । परिवारको हत्या अघि बालिकामाथि सामूहिक बलात्कार पनि भएको आफन्तजनले आरोप लगाएका छन् । उनीहरुले बालिकामाथि बलात्कारपछि परिवारका चार जनाको हत्या भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।


जग्गाको विषयमा गाउँकै केही व्यक्तिसँग विवाद हुँदा त्यतिबेला पनि दलित परिवारमाथि कुटपिट भएको थियो । कुटपिट र ज्यान मार्ने धम्कीको विषयमा पहिले नै प्रहरीमा उजुरी दिए पनि कुनै सुनुवाइ नभएको र हिजो चार जनाको हत्या भएको आफन्तले बताएका छन् ।


प्रहरी र अभियुक्तको मिलेमतोमा घटना भएको भन्दै उनीहरुले निष्पक्ष छानबिनको माग गरेका छन् । यस्तै, भारतीय कांग्रेसले घटनाको विरोध गरेको छ । उत्तर प्रदेश कांग्रेसले ट्वीट गर्दै प्रहरीकै कारण दलित परिवारको हत्या भएको आरोप लगाएको छ ।


कांग्रेसकी महासचिव प्रियङ्का गान्धीले पीडित परिवारसँग भेटेर न्याय दिलाउन पहल गर्ने आश्वासन दिएकी छन् । उनले उत्तर प्रदेशमा सरकारले नै कानुनी राज्यको धज्जी उडाइरहेको र दलित तथा गरिब परिवारमाथि सरकारकै संरक्षणमा हमला भइरहेको आरोप लगाइन् ।