विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हात्ती प्रभावित क्षेत्रको पदयात्रा सुरु गरेका छन् । झापाको बाहुनडाँगीस्थित प्रसाद गौडाबाट हात्ती प्रभावित क्षेत्रको पदयात्रा सुरू गरेका हुन् । यो यात्रा उदयपुर पुगेर टुङ्गिनेछ ।
जीव–जनावर, जंगल, जनतामैत्री जिम्मेवार जनप्रतिनिधि भन्ने नारासाथ मेची खोला तीर हुँदै हात्ती नेपालतर्फ प्रवेश गर्ने नाकाबाट मुख्यमन्त्री कार्कीले यात्रा सुरु गरेका हुन् । बाहुनडाँगीबाट सुरु भएको यात्रा फागुन १६ गते उदयपुर जिल्लाको बेलसोतमा पुगेर सम्पन्न हुनेछ ।
मुख्यमन्त्री कार्कीले जैविक मार्गमै पर्ने सात स्थानमा रात्रिकालीन विश्राम गर्नेछन् । मुख्यमन्त्रीसहितको टोलीले झापाबाट उदयपुरसम्म कूल २४३ किलोमिटर पैदल यात्रा गर्दा चार जिल्लाका २३ स्थानीय तहमा पुगेर हात्ती प्रभावितसँग छलफल गर्नेछन् ।
यदयात्रा शुभारम्भका क्रममा मुख्यमन्त्री कार्कीले हात्ती र मानवबिचको द्वन्द्व घटाउन र समस्या पहिचान गर्न पदयात्रा सुरू गरिएको बताए ।
पदयात्रामा प्रदेशका सरकारी एवं गैरसरकारी निकाय, संरक्षणकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, हात्तीविज्ञ, नागरिक समाज एवं आम नागरिकहरुको सहभागिता छ ।