भारतको उत्तराखण्डमा भारी हिमपातमा फसेका सात यात्रुको मृत्यु

न्युजलय ६ कार्तिक २०७८, शनिवार १०:५६ मा प्रकाशित

काठमाण्डौ । भारतको उच्च हिमाली क्षेत्रमा भारी हिमपातमा फसेकामध्ये कम्तीमा सात यात्रुको मृत्यु भएको छ।

उच्च हिमाली क्षेत्रमा ट्रेकिङका लागि गएका पर्यटकहरु भारी हिमपातका कारण उत्तराखण्डका विभिन्न क्षेत्रमा फसेका थिए। फसेकामध्ये कम्तीमा सातजनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

अझै पनि ट्रेकिङका लागि गएका केही मानिस सम्पर्कविहीन छन्। फसेकाहरुको उद्धार प्रयास जारी रहेको उत्तराखण्ड सरकारले जनाएको छ।

अक्टोबर १८ र १९ मा उत्तराखण्डमा भारी हिमपात भएको थियो। हिमपातका कारण उत्तरकाशी जिल्लाको हर्षिलबाट हिमाञ्चलको चितकुलका लागि ट्रेकिङमा गएका ११ जना बेपत्ता भएका थिए। सो समूहका सातजनाको मृत्यु भएको उत्तरकाशी प्रहरीले पुष्टि गरेको बीबीसी हिन्दीले उल्लेख गरेको छ। 

यस्तै बागेश्वर जिल्लाको सुन्दरढुंगा हिमनदी क्षेत्रमा ट्रेकिङमा गएका अरु ६ जना सम्पर्कविहीन छन्। उनीहरु हिमपहिरोमा परेको हुनसक्ने आशंका गरिएको छ।