काठमाडौं । इजिप्टका एक पुरुषले श्रीमतीको प्राकृतिक अनुहार हेर्न आफूले बानी पार्न नसकेका कारण सम्बन्धविच्छेदको माग गरेका छन् ।
उनले आफ्नी एक महिना पुरानी श्रीमतीबाट सम्बन्धविच्छेदको माग गरेका हुन् किनभने उनले आफ्नी श्रीमतीलाई मेकअप बिना हेर्न सकिरहेका छैनन् ।
यी दुईको भेट फेसबुकमा भएको हो । फेसबुकमा ती महिलाले निकै आकर्षक तस्बिर पोस्ट गर्ने गर्थिन् । त्यसपछि उनीहरुबीच कुराकानी सुरु भयो, दुईबीच भेटघाट पनि भए । भेटमा पनि उनी आकर्षक नै देखिइन् । त्यसैले ती पुरुषले उनलाई विवाह गर्ने सोच बनाए । समस्या विवाहको भोलिपल्ट सुरु भयो जब उनले आफ्नी बेहुलीलाई पहिलोपटक मेकअप बिना नै देखे ।
म आघातमा परेँ किनभने विवाह अघि मैले जस्तो उनलाई देखेको थिएँ, उनी त्यस्तो देखिइनन्,’ निराश श्रीमानले हेलियोपोलिसस्थित अदालतमा भने । ‘मैले उनको तस्बिर फेसबुकमा देखेको थिएँ । उनले मेकअप नगरेको अनुहार र ती तस्बिरबीच अकास पातालको फरक छ । म ठगिएँ, त्यसैले उनीबाट सम्बन्धविच्छेद चाहन्छु ।’
मलाई उनले झुक्याइन् किनभने विवाह अघि उनले असाध्यै धेरै मेकअप लगाउने रहिछिन्,’ ती पुरुषले थपे । ‘तर विवाहपछि मैले उनको वास्तविक अनुहार देखेँ, उनी कुरुप देखिन्छिन् ।’
इजिप्टको मिडियामा प्रकाशित समाचारका अनुसार ती श्रीमानले आफ्नी श्रीमतीको अनुहारमा बानी पार्न त खोजेको तर नसकेका कारण विवाहको एक महिनापछि सम्बन्धविच्छेदका लागि निवदेन दिएका हुन् ।