सर्टका टाँक नै सुनको लगाएर दुबईदेखि काठमाडौं, एक जना पक्राउ

न्युजलय २० असार २०७९, सोमबार १०:२४ मा प्रकाशित

काठमाडौं । सुन तस्करले नयाँ नयाँ तरिका अपनाएर तस्करी गर्ने गरेको खुलेको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले सर्टका टाँक नै सुनको बनाएर तस्करी गर्ने गरेको आरोपमा एक जनालाई पक्राउ गरेपछि सो कुरा सार्वजनिक भएको हो। 

सोमबार बिहान दुबईबाट काठमाडौं आएका एक जना यात्रु ल्याएको बालकहरुको कपडामा लगाइएको टाँक नै सुनको भएको पाइएको थियो। ती यात्रुले ल्याएको लगेज जाँच गर्दा बालबालिकाले लगाउने सिंगल पिस कपडामा राखिएका टाँक नै सुनको भएको भेटिएको थियो। 

बालबालिकाले लगाउने कपडामा लगाइएको ६० वटा सुनका टाँक फेला परेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ । उक्त सुनका टाँकको तौल १२५ ग्राम रहेको पाइएको छ। 

सुमन दमाई नाम गरेका ती यात्रु भिजिट भिषामा दुबइ गएर काम गरेको पाइएको छ। केही समय काम गरेपछि काम नपाएर फर्कने क्रममा दुवई एयरपोटएमा एक अपरिचित व्यक्तिले नेपालमा रहेका आफन्तको बच्चाका लागि उपहार पठाएको भन्दै ती कपडा दमाईलाई दिएका थिए। 

तीनै अपरिचत व्यक्तिले दिएको कपडा लिएर आउँदा कपडामा स्टिलको बटमभित्र सुनको बटम भएको पाइएपछि उनी पक्राउ परेका हुन्।