काठमाडौं । शिक्षक सेवा आयोगले गत असारमा लिएको स्थायी शिक्षक पदको नतिजा दशैं अगाडि सार्वजनिक गर्ने तयारी गरेको छ ।
प्रावि, निमावि र मावि तह गरी विभिन्न विषयका शिक्षकका लागि लिइएको परीक्षाको नतिजा दशैं अगाडि नै सार्वजनिक गर्ने तयारी गरेको हो ।
अहिले उत्तर पुस्तिका परीक्षणको काम भईरहेको जानकारी दिइएको छ । आयोगले माध्यमिक तहको असोजदेखि कात्तिकभित्रमा नतिजा प्रकाशन गरिसक्ने र मंसिरमा अन्तर्वार्ता गर्ने गरी कार्यतालिका बनाएको छ ।
अन्तर्वार्तामा पास भएका शिक्षकहरूलाई पुसभित्रमा सिफारिस गरेर नियुक्ति पत्र दिनेछ । त्यस्तै आयोगले निमाविको ढिलोमा मंसिर भित्रमा नतिजा प्रकाशन गर्ने र पुसमा अन्तर्वार्ता लिँदै माघमा सिफारिस गर्ने गरी काम अघि बढाइरहेको छ ।
प्राविको मंसिर भित्रमा नतिजा प्रकाशन गर्ने, फागुनभित्रमा अन्तर्वार्ता गरिसक्ने र चैत्रभित्रमा सिफारिस गरिसक्ने कार्यतालिका रहेको बताइएको छ ।