इटहरी । नेकपा एमाले इटहरी उपमहानगर कमिटि अध्यक्ष रुपेश बस्नेतले कार्यपालिका र नगरसभा लामो समयसम्म नबसेपछि उपमहानगरपालिकाको अवस्था सुधारमा काम गर्न नसकिएको बताएका छन् ।
पछिल्लो समय आर्थिक संकट, बेथिती र अनियमितता हावी भएको पालिकामा बहुमत नगरसभा सदस्य नेकपा एमालेले पनि केही गर्न नसकेको भन्दै आलोचना भइरहेकै बेलामा उनले यस्तो दावी गरेका हुन् । उनले आफूहरु बहुमत भएपनि निरिह रहेको बताएका छन् । ब्लाष्ट टाइम्स दैनिकमा लामो लेख लेख्दै अध्यक्ष बस्नेतले स्थानीय तहमा मेयर कार्यकारी रहने हुँदा दैनिक कार्य सञ्चालन गर्न बहुमतको भूमिका नभएको पनि जिकिर गरेका छन् ।
उनकाअनुसार बहुमत देखाउने र बहुमतले निर्णय गर्ने भनेको कार्यपालिका र नगर सभा हो । 'इटहरीमा ६ महिना बढी समयदेखि कार्यपालिका बस्न सकेकोछैन भने यो आर्थिक वर्षको हिउँदे अधिवेशन पनि बोलाइएन,' उनले भनेका छन्, 'यस्तोमा हामी सुझाव दिन, असहमती जनाउन र विरोध गर्न मात्र सक्छौं, अनि एमालेको बहुमत भनेर दोष दिएर हुन्छ ?'
उनले नगरप्रमुखलाई बाहिर राखेर बहुमतले काम गर्न सकिने अवस्था भएको भए आफूहरुले नगरको अवस्था सुधार गरिसक्नेसमेत दावी गरेका छन् ।
बहुमत र अल्पमतको प्रयोग कार्यपालिका बैठक र नगरसभामा हुने बताउँदै नगर प्रमुखले गर्ने दिनानुदिनको कामलाई बहुमतले छेक्न नसक्ने बताएका छन् । 'कार्यपालिका बैठकमा भए पो बहुमतको कुरा हुन्छ । कार्यपालिका बैठक नै नबसे बहुमत कहाँ गएर देखाउने ? दैनिक काम त नगर प्रमुखले नै गर्ने हो,' उनले लेखेका छन् ।
उनले इटहरी उपमहानगरपालिका नगरसभा र कार्यपालिकाको निर्णयभन्दा प्रमुख र हाकिमको टिप्पणी अनि तोक आदेशबाट चलेको र स्थानिय सरकार संचालन ऐनको धज्जि उडाइएको आरोप लगाएका छन् ।
इटहरी उपमहानगरपालिकाको आजको दुरावस्थाको लागि आफ्नो पार्टी एमालेतर्फका जनप्रतिनिधिहरुको पनि कमजोरी रहेको स्वीकार गरेका छन् । साथै उनले सच्याउने प्रयास र प्रतिबद्धता व्यक्त गर्दै मेयरलाई पनि जिम्मेवार बन्न र सच्चिन आग्रह गरेका छन् । 'नगरप्रमुख सही, इमान्दार भए, विकास तथा सुशासनप्रति प्रतिबद्ध भएमात्र नगर सही दिशामा जान्छ । नेतृत्वले नचाहेसम्म बहुमतले मात्र चाहेर केही गर्न सकिँदैन,' उनले लेखेका छन् ।