इटहरी । विहीबार इटहरी उपमहानगरपालिकाको १३४ औं कार्यपालिका बैठक भाँडिएको छ । एजेन्डामा नसमेटिएको विषयमा मेयर–सदस्य विवाद बढेपछि बैठक भाँडिएको हो ।
कर समायोजन समितिको प्रतिवेदनमासमेत छलफल हुने भनिएको कार्यपालिका बैठक एजेण्डामा प्रवेश नै नगरी भाँडिएको हो ।
बैठकको एजेन्डाको सुचीमा आफूले दिएको एजेण्डा नपरेपछि उपमेयर संगीता चौधरीले सुरुमै प्रतिवाद गरेकी थिइन् । अघिल्ला बैठकहरुमा नरम तरिकाले प्रस्तुत हुने उपमेयर चौधरी यो पटक कडा तरिकाले प्रस्तुत भएकी थिइन् ।
‘मैले दिएको ऐजेण्डा आएको छैन । मैले यो एजेण्डा राखौं भनेर मेयरलाई पनि भने, प्रमुख प्रशासकीयलाई पनि भनेँ, तर त्यो एजेण्डा किन आएन ?’ उनले सोधिन् ।
सदस्यहरुमा अलमल देखिएपछि मेयर हेमकर्ण पौडेलले कुरा प्रष्ट्याए ।
भएको के रहेछ भने शिक्षा समितिको बैठकले गर्नुपर्ने एउटा निर्णय शिक्षा समितिका संयोजकसमेत रहेका मेयरले एकलौटी पत्र काटेर गरिदिएछन् ।
जनता माविको स्थायी शिक्षकको पदपूर्ती गर्ने सम्बन्धमा जनता मावि इटहरीलाई स्थायी शिक्षक सरुवा गर्ने पत्र मेयर पौडेलले दिएका थिए । हुन त त्यो विषयमा शिक्षा समितिको बैठकमा छलफल पनि भएको थियो, तर छलफल टुंगोमा पुग्न सकेको थिएन ।
माथि काउन्ट भइसकेको रिक्त दरबन्दीमा शिक्षा समितिले पनि पदपूर्ती गर्न मिल्दैनथ्यो । तर, समितिले पनि गर्न नमिल्ने निर्णय मेयर एक्लैले 'परेको पछि फेस गर्ने ' भन्दै पत्र लेखेर पठाइदिए ।
मेयरको त्यो निर्णयलाई कार्यपालिकाको बैठकमा एजेण्डा राखेर खारेज गर्नुपर्ने माग उपप्रमुख चौधरीलगायत एमाले सदस्यहरुको थियो । शिक्षा समितिबाट पास नगराइ एकलौटी सहमती दिएर मेयरले शिक्षा समितिको अवहेलना गरेको आरोप उपप्रमुख चौधरीले लगाएकी थिइन् ।
सदस्य प्रभात आचार्यले समेत मेयरको पत्रलाई खारेज गरी दशैं तिहारको बिचमा शिक्षा समितिको बैठक बसेर विधिवत तरिकाले पास गराएर ल्याउने निर्णय आजको कार्यपालिका बैठकमा गर्न माग गरेका थिए ।
यसैबिच मेयर पौडेलले शिक्षा समितिको बैठक नबसेको बताए पछि माहोल आरोप प्रत्यारोपमा परिणत भयो ।
अर्का सदस्य उमेश सुवेदीले ‘बैठकमा बोलाइएको पत्र आफूसँग भएको’ बताए ।
फेरी मेयर पौडेलले ‘माइन्युट देखाउनुस्’ भने ।
सुवेदीले ‘माइन्युटमा आफूहरुलाई सही नगराइएको अझ माइन्युट नै नबनाइएको’ बताए । ‘सहमती हुँदा मात्र माइन्युट गर्ने, नत्र नगर्ने नियत देखियो,’ उनको आरोप थियो ।
मेयर पौडेलले ‘माइन्युट नगरेको बैठक बैठक नै होइन’ भनिदिए ।
उपमेयरले ‘माइन्युट किन भएन ?’ भनेर प्रश्न गरिन् । अनि भनिन्, ‘शाखा प्रमुखलाई अहिले बोलाउनुहोस् । बैठक बस्ने तर माइन्युट नगर्ने शिक्षा शाखाको कर्मचारीलाई कारवाही गर्नुस् ।’
‘बैठकमा छलफल पनि भएको हो, सहमती हुन सकेन । अहिले बैठक नै नबसेको भनेर ढाँट्न मिल्छ ?’ सुवेदीले थपे ।
यता मेयर पौडेलले भने त्यो विषयलाई शिक्षा समितिमा छलफल गर्ने र त्यहाँ पास हुन नसके मात्र कार्यपालिकामा ल्याएर खारेज गर्ने बताएका थिए । उनले कार्यपालिका बैठकमा पछि निर्णय हुने गरी धेरै काम हुने गरेको र यो पनि सोही प्रकृतिको रहेकोले बिचमा शिक्षा समितिले निर्णय गरेर अर्को कार्यपालिकामा ल्याउने प्रतिबद्धता जनाएका थिए । उनले सो विषयलाई अर्को कार्यपालिका बैठकमा एजेण्डा राखेर छलफल गर्नेगरी अहिले अन्य एजेण्डामा प्रवेश गर्न पटक पटक आग्रह गरेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत रामचरित मेहताले पनि मेयर पौडेलको भनाईमा समर्थन जनाउँदै आफ्ना भनाई राखेका थिए ।
तर कार्यपालिका सदस्यहरुले मानेनन् । उनीहरुले भोलि नै शिक्षा समितिको बैठक बोलाउन माग गरे ।
त्यसपछि मेयर पौडेल झोक्किए । ‘तपाईहरु सरकार सञ्चालन ऐन पढ्नुहुन्न कि क्या हो ? कार्यपालिकाको बैठकमा अध्यक्षलाई सदस्यले बैठक बोला भनेर निर्देशन गर्न मिल्छ ?’ उनले भने, ‘ऐन सम्मत छैन, विधि सम्मत छैन, अर्को पटक ल्याउँछु भनेर भनेँ, त्यो प्रतिबद्धता होइन ? अझ के चाहियो ? यस्तो विषयमा पनि लिखित निर्णय चाहियो ?’
सदस्यहरुको विरोध जारी रहेपछि मेयर पौडेल बैठक अन्त्य भएको घोषणा गरेर हिडेका थिए ।
मेयर पौडेल हिडेपछि उपमेयर चौधरीले आजको बैठकमा कर घटाउने विषयमा समेत छलफल गर्ने योजना बनाउँदा बनाउँदै बैठक अन्त्य गरिएको बताइन् ।
उनले कर समायोजन समितिको प्रतिवेदन बुझाउने बैठक छलफलमा प्रवेश नगरी अन्त्य हुँदा आफूहरु दुःखी भएको बताइन् । उनले आफूहरु सामुहिक हस्ताक्षर संकलन गरेर विशेष नगरसभा बोलाउने दिशामा अगाडी बढ्नेसमेत घोषणा गरिन् ।
त्यसै पनि कर घटाउन अनिच्छुक उपमहानगरपालिकाको कार्यपालिका बैठक एजेण्डामा प्रवेश नै नगरी भाँडिएपछि नगरवासी निराश बनेका छन् ।