इटहरी । इटहरी उपमहानगरपालिकाले २ अर्ब ४९ करोडको पुरक बजेट प्रस्तुत गरेको छ । जुन अनुमानित बजेटभन्दा ६ करोड कम हो । २ अर्ब ५५ करोड २१ लाखको बजेट ल्याइएको थियो ।
उपमेयर संगीता चौधरीले नगरसभामा पेश गरेको पुरक बजेटअनुसार चालु आर्थिक वर्षभित्र पुँजीगततर्फ ५४.१ प्रतिशत र चालु तर्फ ३८.५ प्रतिशत हुने अनुमान गरिएको छ । हालसम्मको प्रगती भने चालुतर्फ २५.२५ र पुँजीगततर्फ १९.७८ प्रतिशत मात्र छ । अबको तीन महिनामा यसलाई दोब्बर बनाउने योजना प्रस्तुत गरिएको छ ।
हालसम्म उपमहानगरपालिकाको आम्दानी १ अर्ब २५ करोड छ भने खर्च १ अर्ब १४ करोड मात्र छ । गत आर्थिक वर्ष २०८१/०८२ मा जेष्ठ मसान्तसम्ममा पालिकाले १ अर्ब ९६ करोड ३५ लाख ५५ हजार रुपैया आम्दानी गरेको थियो । यस पटक झण्डै अढाई अर्बको आय अनुमान गरिएको छ । जुन सम्भव देखिँदैन ।
अहिलेसम्म आन्तरिक स्रोतबाट जम्मा २६ करोड २१ लाख आम्दानी भएको विवरण पेश गरिएको छ । असार मसान्तसम्मको लागि संशोधित आन्तरिक आय ६४ करोड ८६ लाख अनुमान गरिएको छ । अघिल्लो वर्ष जेठ मसान्त सम्ममा पनि उपमहानगरपालिकाले आन्तरिक आयतर्फ ३३ करोड २८ लाख रुपैया मात्र आम्दानी गरेको थियो । गत जेठमा पेश गरिएको यो वर्षको बजेटमा ५८ करोड आन्तरिक आय अनुमान गरिएको थियो । यो लक्ष्य पनि असम्भव देखिन्छ ।
जेन्जी आन्दोलनमा क्षतीग्रस्त संरचनाको पुनर्निर्माण र खरिदका कारण यो वर्षको बजेट अनुमान गरिएभन्दा केही फरक हुने चौधरीले बताइन् ।
पुरक बजेटलगायतका अन्य ऐजेण्डामाथि वैशाख ६ गते छलफल हुनेछ ।