इटहरी । आगामी आर्थिक वर्षको बजेटमा इटहरी उपमहानगरपालिका सम्हालिएको छ । गत वर्ष ३ अर्ब ५७ करोड २४ लाखको बजेट ल्याएको पालिकाले यो पटक २ अर्ब ५५ करोड २१ लाखको बजेट ल्याएको छ । यो चालु आवको भन्दा १ अर्ब अर्थात् २८ प्रतिशतले कम हो ।
लगातार दुई आर्थिक वर्ष महत्वकांक्षी बजेट ल्याएको इटहरी यो पटक भने करेक्सनको दिशामा अघि बढेको हो । इटहरी उपमहानगरपालिका उपप्रमुख संगीताकुमारी चौधरीले मंगलबार नगरको १६ औँ नगरसभामार्फत बजेट सार्वजनिक गरिन् ।
उपमहानगरपालिकाले चालु आर्थिक वर्षकै कार्यक्रमलाई प्राथमिकता दिएको छ । चालु आर्थिक वर्ष योजनाहरु सम्झौता हुन नसकेपछि पालिकाले पुरानै कार्यक्रमलाई निरन्तरता दिएको हो ।
घट्यो आम्दानी, आन्तरिक आय त झन् घट्यो
चालु आर्थिक वर्ष २०८१/०८२ मा आयतर्फ जेष्ठ मसान्तसम्ममा पालिकाले १ अर्ब ९६ करोड ३५ लाख ५५ हजार रुपैया आम्दानी प्राप्त गरेको छ । यो भनेको कुल अनुमानित बजेटको ५५ प्रतिशत मात्र हो । यद्यपी असार मसान्त सम्ममा २ अर्ब ३९ करोड आम्दानी गर्ने संशोधित अनुमान गरिएको छ । यो भनेको कुल बजेटको ६७ प्रतिशत हो ।
उपमहानगरले आन्तरिक आयतर्फ ३३ करोड २८ लाख रुपैया आम्दानी गरेको छ । यो भनेको कुल अनुमानित ९६ करोड रुपैयाको ३४ प्रतिशत मात्र हो ।
अघिल्लो आर्थिक वर्षको जेठ मसान्त सम्ममा पनि उपमहानगरको आन्तरिक आम्दानी ३४ करोड ५० लाख रुपैया थियो । उपमहानगरपालिकाले आन्तरिक आम्दानी अस्वभाविक अनुमान गरेको भन्दै आलोचना भएको थियो । यद्यपी यो वर्ष पालिकाले ४२ करोड १० लाख आन्तरिक आय गर्ने संशोधित अनुमान गरेको छ ।
यस्तो छ, आम्दानी खर्चको फाँटवारी
आगामी आर्थिक वर्षको लागि संघीय समानिकरण अनुदान २८ करोड ३० लाख, संघीय ससर्त अनुदान चालु खर्चतर्फ ४७ करोड १६ लाख, संघीय ससर्त अनुदान पुँजीगत खर्चतर्फ ४३ करोड २० लाख, संघीय समपुरक अनुदान १ करोड ३६ लाख, संघीय विशेष अनुदान १ करोड ४२ लाख, प्रदेश समानिकरण अनुदान २ करोड ७५ लाख, प्रदेश ससर्त अनुदान चालु खर्चतर्फ ७८ लाख, प्रदेश ससर्त अनुदान पुजीगत खर्चतर्फ १ करोड २९ लाख, संघीय राजश्व बाँडफाँड १९ करोड २५ लाख, प्रदेश राजश्व वाँडफाँड (सवारी कर) २ करोड १ लाख ७३ हजार, प्रदेश राजश्व बाँडफाँड (मालपोत रजिष्ट्रेसन) ४० करोड, आन्तरिक श्रोतबाट ५८ करोड र नगद मौज्दात परिवर्तनबाट ९ करोड ६७ लाख गरि कुल जम्मा २ अर्ब ५५ करोड २१ लाखको अनुमानित बजेट पेश गरिएको छ ।
चालु खर्चतर्फ १ अर्ब ४ करोड ११ लाख, साँवा ब्याज भुक्तानीतर्फ ९० लाख र पुँजिगततर्फ १ अर्ब ५० करोड १९ लाख ९० हजार रुपैया खर्च हुने अनुमान गरिएको छ ।
न्युन आयका यस्ता छन् कारण
उपमहानगरपालिकाले संघीय सरकारबाट प्राप्त हुने समानिकरण अनुदान, आन्तरिक स्रोत, मालपोत रजिष्ट्रेसन शुल्क सोचेअनुसार संकलन नहुनु, विश्व बैकबाट संचालित जुटविकासदेखी तालतलैया हुदै वरगाछी जाने सडकका निर्माण कार्य बाटोको काममा सोचे अनुरुपको प्रगति हुन नसक्नु, संघीय सरकारबाट उक्त शिर्षकमा प्राप्त हुने सर्सत अनुदानको रकम अनुमान अनुसार नपाउनु यो वर्ष न्युन आय हुने कारण रहेको जनाइएको छ । यसले गर्दा आर्थिक वर्षमा सञ्चालित योजना तथा कार्यक्रमको भुक्तानी तथा दायित्व आगामी आर्थिक वर्षमा सरेर जाने देखिएको बजेटमा उल्लेख छ ।
के के छन् योजना ?
बाहिरी चक्रपथको लागि सम्भाव्यता अध्ययन, इटहरीको गुरु योजना बनाउने, इटहरीको डुबान नियन्त्रण तथा सडक पूर्वाधारको डीपीआर बनाउने, २ वटा आकाशे पुल बनाउने लगायतका योजना बनाएको छ ।
यस्तै टेङ्ग्रा खोला, खेति खोला, सुकुमारी खोलालगायतका खोला पैनीको क्षेत्राधिकार कायम गर्ने, नगर बस सञ्चालनमा ल्याउने, टेङ्ग्रा खोलाको कोरिडोर निर्माण गर्ने परियोजना संचालन गर्दा पूर्ण रुपमा विस्थापित हुने घर परिवारलाई पुनः स्थापना गर्ने योजना बनाएको छ ।
यस्तै पर्यटकीय प्रोफाइल बनाउने, खनारमा होमस्टे सञ्चालन गर्ने घोषणा गरिएको छ । यस्तै खेलप्रेमीहरुले क्रिकेट पिच बनाउन माग गरिरहेको डिभीएम स्कुलको जग्गामा पार्क बनाउने घोषणा गरिएको छ ।
यस्तै इटहरी उपमहानगरपालिकाले इटहरी रंगशालालाई आफ्नो स्वामित्वमा लिन पहल गर्ने योजना छ ।