हामीले चाह्यौं भने कोशीमा मुख्यमन्त्री पाउन सक्छौंः अध्यक्ष लिङ्देन

न्युजलय १२ भदौ २०८०, मङ्गलबार ०५:३४ मा प्रकाशित

 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा सभामुख पद फाला फाल रहेको बताएका छन्। 

मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले कोशीमा सभामुख पद फालाफाल रहेको बताएका हुन्। उनले राप्रपाले चाहे कोशीमा मुख्यमन्त्री पाउने समेत दाबी गरे। 

‘कोशीमा हामीले सभामुख मागिरहनु पर्दैन। कोशी प्रदेशको सभामुख त फालाफाल छ। सभामुख लिन कुनै सर्त राख्नै पर्दैन। सभामुख र मन्त्री हाम्रा लागि प्राथमिकताको विषय होइन। हामीले चाह्यौं भने सत्तापक्षबाट मुख्यमन्त्री पाउनसक्ने अवस्था छ।

अहिलेको मुख्यमन्त्रीले राप्रपालाई मुख्यमन्त्री दिँदा पनि मानेन भन्नुभएको छ। हामीले सभामुख र एक मन्त्री लिएर गठबन्धनलाई सघाउने सर्त भएको छैन,’ उनले भने। 

उनले संसदीय समितिमा आफूहरूले दलको संख्याका आधारमा समितिको नेतृत्व लिएको बताए।