काठमाडौ । शनिबार(आज) देखि २८६०औँ सोनाम ल्होछारको थालनी भएको छ ।
चन्द्रपात्रो अनुसार माघ शुक्ल प्रतिपदादेखि ल्होछार मनाइन्छ । तामाङ भाषामा ‘ल्हो’ भनेको वर्ष र छार भनेको नयाँ हो । तसर्थ ल्होछारको शाब्दिक अर्थ नयाँ वर्ष हुन्छ ।
तामाङहरू ‘ल्हो’ पद्धतिलाई मान्छन् । त्यस अनुसार जीवजन्तुमा आधारित १२ ल्हो र प्राकृतिक स्वभावका आधारमा पाँच खाम हुन्छन् । तामाङहरूको ‘ल्हो’ फेर्ने दिन नै ल्होछार हो । हरेक वर्ष एकपटक ल्होछार आउँछ । ल्होको एक चक्र पूरा हुन १२ वर्ष लाग्छ । त्यसलाई ल्होकोर अर्थात् ल्हेकोर भनिन्छ । त्यसपछि पुनः चक्र दोहोरिन्छ ।
ल्होछारमा एउटा जनावरको समय सुरु भएपछि अर्कोमा नसरेसम्म त्यही जनावरको चरित्र, क्षमता, साहस, तीक्ष्णता, स्वभाव, आनीबानी आदि वर्षभर झल्किन्छ भन्ने मान्यता छ ।