ओखलढुङ्गाको खिजीदेम्वा गाउँपालिका अध्यक्ष शेर्पा अमेरिकी राहदानीको विवादमा

न्युजलय २५ जेठ २०८०, बिहिबार ०७:३३ मा प्रकाशित

काठमाडौं । ओखलढुङ्गाको खिजीदेम्वा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पा विवादमा परेका छन्।

२०७९ वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टीका तर्फबाट विजयी भएका गम्बु शेर्पा विवादमा परेका हुन् । उनी अमेरिकी छोडेर गाउँ फर्केर निर्वाचनमा होमिएका थिए। 

नेकपा एमाले, माओवादी, नेपाली कांग्रेससहितका दलहरुका उम्मेदबारलाई हराउँदै उनी विजयि भएका थिए। अहिले उनी नागरिकता र राहादानीको विवादमा तानिएका छन्। उनको उक्त विवाद उच्च अदालत विराटनगर पुगेको छ। 

गाउँपालिका अध्यक्ष शेर्पाले निर्वाचन आयोगलाई ढाँटेर अमेरिकी ग्रिनकार्ड र राहदानी साथै राख्दै निर्वाचनमा भाग लिएको र विजयी भएको दाबी गर्दै उनका प्रतिस्पर्धी भुपिन्द्रबहादुर बस्नेनतले उच्च अदालत विराटनगरमा रिट दर्ता गराएका हुन्। 

नेपाली कांग्रेसका तर्फबाट गाउँपालिकाको अध्यक्षमा प्रतिस्पर्धी रहेका बस्नेतले शेर्पाको नेपाली नागरिकता नै नभएकाले उनी गाउँपालिका अध्यक्ष हुन अयोग्य भएको दाबी रिटमा गरेका छन्। गाउँपालिका अध्यक्ष शेर्पाविरुद्ध उच्च अदालत विराटनगरले आदेश पनि जारी गरेको छ।  

उच्च अदालत विराटनगरले ओखलढुंगा खिजीदेम्वा गाउँपालिका अध्यक्ष  शेर्पाविरुद्ध राहदानीसम्बन्धी सबै कागजात १५ दिनभित्र पेस गर्न आदेश दिएको छ। नेपाली नागरिकता पुनः प्राप्तिको निस्सासहित अमेरिकी राहदानी त्याग गरेको विवरण समेत पेस गर्न अदालतले भनेको छ। 

आफूले संविधान उल्लंघन नगरेकाले सबै सक्कल विवरण अदालतमा पेस गर्ने अनि न्यायका लागि लड्ने पनि शेर्पाले बताए।