स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने बीएण्डसी र नोबेलको चेतावनी

न्युजलय ९ असार २०७९, बिहिबार ०१:५२ मा प्रकाशित

काठमाडौं । सरकारले स्वास्थ्य बिमाको पैसा भुक्तानी नगर्दा बीमा कार्यक्रम सञ्चालन भएका अस्पतालहरु मार्कामा परेका छन् । झापाको बीएण्डसी अस्पताल र विराटनगरको नोबेल मेडिकल कलेजले आफूहरुले १ अर्ब रुपैया पाउनुपर्ने अवस्था रहेको भन्दै रकम भुक्तानी नगरे स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने चेतावनी दिएका छन् । 

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले मंसिरयता मात्र ४५ करोडभन्दा बढी रकम पाउनुपर्ने हिसाब रहेको बताए । ३ महिनादेखि भोलि, पर्सी, अर्को हप्ता भनेर जवाफ दिइने गरिएको उनले बताए ।

यस्तै, नोबेल मेडिकल कलेजका भीमबहादुर चन्दका अनुसार मंसिरयता ५४ करोड ३८ लाख रुपैयाँ बिमा कार्यक्रमअन्तर्गत लिन बाँकी छ।

पैसा रोकिँदा कलेजले ३ महिनादेखि कर्मचारी तथा प्राज्ञिक जनशक्तिलाई तलब खुवाउन नसकेको र यसको असर पठनपाठनमा पनि पर्ने उल्लेख गरे । यसअघि रकम भुक्तानी नपाएको भन्दै काठमाडौंको शिक्षण अस्पतालले पनि स्वास्थ्य बिमा कार्यक्रम बन्द भएको घोषणा गरिसकेको छ ।