पाथीभरामा हेलिकोप्टरको लर्को, अन्नपूर्ण पदमार्गमा भने व्यवशायीको अवरोध

न्युजलय १८ कार्तिक २०७८, बिहिबार ०१:२६ मा प्रकाशित

ताप्लेजुङ । मौसम सफा भएपछि पछिल्लो समय पाथीभराको मन्दिरमा हेलिकप्टरको लर्को लागेको छ । दुईवटा हेलिकप्टर मात्रै अट्ने हेलिप्याडमा नअटाएपछि चउरमा ल्याण्ड गरेर यात्रु ओसार्ने गरेका छन् ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेकाअनुसार पाथीभरा तीर्थयात्री लिएर आउने हेलिकोप्टरलाई अवतरण शुल्क लाग्दैन । सदरमुकाम फुङलिङ, पॉचथर, धरान र धनकुटाको भेडेटारबाट यात्रु ओसारिरहेको उनले जानकारी दिए । त्यसबाहेक काठमाडौंबाट सीधै आउने यात्रुको संख्या पनि उल्लेख्य रहेको छ ।

ट्राभल र होटलले हेलिकोप्टर कम्पनीसॅग सम्झौता गरेर यात्रुहरुलाई पाथीभरा पुर्याइरहेका छन् । हेलिकोप्टरबाट कति संख्यामा तीर्थयात्री आए भन्ने यकिन तथ्यांक भने कतै राखिएको छैन । तथापी दसैंको नौरथा सुरु भएको असोज २१ देखि कात्तिक १५ सम्म ५३ हजार ५ सयले पाथीभरा दर्शन गरेका छन् । पाथीभरा दर्शनका लागि यो सिजनमा असोज र कात्तिक महिनालाई उत्कृष्ट महिनाको रूपमा लिइन्छ । हिउँदमा फागुन र चैतमा सबैभन्दा बढी हुन्छन् । दुई वर्ष अघि चैतमा एकै दिन १७ हजारले दर्शन गरेको तथ्यांक पाथीभरा क्षेत्र विकास समितिसँग छ । 

यता अन्नपूर्ण पदयात्रामा हेलिकप्टर ल्याण्ड गर्न स्थानीय व्यावसायीहरुले अवरोध गरेका छन् । कास्कीस्थित अन्नपूर्ण आधार शिविरका स्थानीय बासिन्दा र व्यवसायीहरुले अन्नपूर्ण आधार शिविरस्थित हेलिप्याडमा झण्डा गाडेर विरोध जनाएका छन् । उनीहरुले चरणबद्ध आन्दोलन अघि बढाउने बताएका छन् ।

भीआइपी र अपाङ्गता भएका व्यक्ति र रेस्क्यु गर्ने हेलिकोप्टरलाई भने अवरोध नगरिने जनाइएको छ ।

हेलिकोप्टर उडानले संरक्षित क्षेत्रका वन्यजन्तु र चराचुरुङ्गीमा असर परेको भन्दै साउन २०७५ मा अन्नपूर्ण गाउँपालिकाको गाउँसभाले व्यवसायिक उडान रोक्ने निर्णय गरेको थियो । कोरोना संक्रमण सुरु हुनुभन्दा अघि प्रभु, सिम्रिक, एअर डाइनेष्टी, एल्टिच्युड हेलिकप्टरले उडान भर्थे । पछिल्लो समय भने प्रभु हेलिकोप्टरले यात्रु ओसारिरहेको थियो ।