इटहरी । सुनसरीमा दुई महिलाको हत्या भएको छ । आफ्नै श्रीमान र देवरले दुई महिलाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सुनसरीको इनरुवा नगरपालिका–३ की २३ वर्षीया निकिता चौधरीको श्रीमान ३२ वर्षीय नागेन्द्र भगतले हत्या गरेको मृतकका आफन्तले आरोप लगाएका छन्।
निकिताका भाई राकेश चौधरीले दाइजोका नाममा भिनाजु भगतले जानीजानी घाँटी थिचेर दिदीको हत्या गरेको आरोप लगाएका छन्। दाइजोका विषयमा बीच विवाद भएपछि गएराति १० बजेको समयमा भगतले घरको सुत्ने कोठामा निकिताको घाँटी थिचेर हत्या गरेको राकेशको दाबी छ ।
निकिता र भगतको विवाह भएको २१ महिना भएको थियो। भगतले विवाह गरेको २१ महिनापछि थप दाइजो ल्याउन निकितालाई दबाद दिएर यातना दिने गरेको बताइएको छ ।
निकिताको मृत्युपश्चात माइती पक्षले दाइजोको निहुँमा निकिताको हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीमा कर्तव्य ज्यान सम्बन्धी जाहेरी दिएका छन्। माइती पक्षको उजुरीका आधारमा आरोपित भगतलाई पक्राउ गरी घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । निकिताका ११ महिनाका छोरा छन्।
यस्तै, सुनसरीकै कोसी गाउँपालिका–७ स्थित हरिपुरमा ३० वर्षीया एकल महिला उषा महतोको हत्या गरिएको छ। उनको १९ वर्षीय देवर सन्तोष महतोले फोनमा अरूसँग कुरा गरेको आरोपमा विष खुवाएर हत्या गरेको घटना सार्वजनिक भएको छ।
एक वर्षअघि दाजुको मृत्यु भएपछि भाउजुलाई अंश दिनुपर्ने भनेर गलत मनसायका साथ पटकपटक कुटपिट गर्दै आएकोमा भदौ ३० गते झुक्याएर विष खुवाई बेहोस बनाएका कारण उषाको मृत्यु भएको बताइएको छ।
बिष खुवाएर गम्भीर घाइते भएकी उषालाई तत्काल जिल्ला अस्पताल इनरुवा लगिएकोमा थप उपचार गर्न कोशी अस्पताल रेफर गरेको थियो। सोही राति उषाको मत्यु भएको बताइएको छ । उषाका १२ वर्षीय छोरा छन् ।
दुवै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।