विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री आज टुंगो लाग्दैछ ।
प्रदेश प्रमुख परशुराम खापुङले आज साँझ ५ बजेसम्म भावी मुख्यमन्त्रीको टुंगो लगाउने छन् ।
कोशी प्रदेशका भावी मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसका विद्रोही समुहका केदार कार्की दुवैले दाबी पेश गरेका छन् ।
माओवादी नेता आङ्बोले गठबन्धनमा रहेका दलहरू मध्ये नेपाली कांग्रेसका २९, माओवादीका १३, नेकपा एसका ३ र जसपाका १ सांसदको हस्ताक्षर बुझाएका छन् भने कांग्रेसका विद्रोही उम्मेदवार कार्कीले आफूसहित कांग्रेसका ९ तथा एमालेका ३९ सदस्यको हस्ताक्षरसहित कुल ४८ जनाको समर्थनसहित मुख्यमन्त्रीको दाबी गरेका छन् ।
आङबोले बुझाएको पत्रमा राखिएको आफ्नो समुहका सांसदहरूको हस्ताक्षर नक्कली भएको दाबी गर्दै कार्की समुहले प्रतिवाद गर्दै आएको छ । सो समुहले आङबोले बुझाएको हस्ताक्षर नक्कली भएको भन्दै अस्वीकार गर्दै आएको छ ।
सो आन्तरिक विवादका कारण उत्पन्न परिस्थितिका बारेमा परामर्श गरेर आज निर्णय लिने प्रदेश प्रमुख खापुङले जानकारी गराएका छन । जसअनुसार कोशीमा शुक्रबार नयाँ मुख्यमन्त्री नियुक्त हुनेछन् ।