सुनसरी सहित ११ जिल्लामा देखियो बर्डफ्लु

न्युजलय ६ चैत २०७८, आइतबार ०९:५२ मा प्रकाशित

 काठमाडौं । देशभरका ११ जिल्लामा बर्डफ्लु फैलिएको छ ।

पशु सेवा विभागका अनुसार ११ जिल्लाका कुखुराको नमुना परीक्षण गर्दा बर्डफ्लु पहिचान भएको हो । बर्डफ्लु देखिएका जिल्लामा काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी, उदयपुर, मकवानपुर, चितवन, सिन्धुली, पर्सा, धनुषा र कास्की छन् ।

यी जिल्लाका विभिन्न फार्ममा पालिएका व्यावसायिक कुखुराको नमुना त्रिपुरेश्वरस्थित केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा बर्डफ्लुको प्रजाति पहिचान भएको हो ।

बर्डफ्लु पहिचान भएका स्थानहरूमा ६५ हजारभन्दा धेरै कुखुरालगायत घरपालुवा पक्षी नष्ट गरिएको छ ।

अहिले ती जिल्लामा संक्रमण नियन्त्रणमा आइसकेको पशु सेवा विभागले जनाएको छ ।

नेपालमा अहिले देखिएको बर्डफ्लु मानिसमा पनि सर्न सक्ने भन्दै सजग रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । बर्डफ्लुको एच ५ एन १ एभिएन इन्फ्लुएन्जा प्रजाति मानिसमा पनि सर्न सक्ने भएकाले घरपालुवा पक्षीको हेरचाहमा खटिने व्यक्तिहरूले विशेष सावधानी अपनाउनुपर्ने मन्त्रालयले जनाएको छ ।

नेपालमा पहिलोपटक सन् २००९ मा बर्डफ्लु भित्रिएको थियो ।