शरणार्थी प्रकरणः जवाफी बहस सकियो, थुनछेक आदेश आजै आउने सम्भावना

न्युजलय ३३ जेठ २०८०, शुक्रबार ०७:४६ मा प्रकाशित

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा सरकारी वकिल र जाहेरवाला पक्षको जवाफी बहस सकिएको छ ।

झण्डै दुई साताअघि जेठ २१ गते आइतवारबाट शुरू भएको बहस शुक्रवार(आज) सकिएको हो । 

शुक्रवार सरकारी वकिलतर्फ अच्युतमणि नेउपाने, लक्ष्मण घिमिरे, महेश खत्री, निर्मला मरासिनी र दिनेश भट्टराई तथा जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ र अधिवक्ता स्वागत नेपालले बहस गरे ।

बहसका सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि नेउपानेले प्रमाण लोप गर्न सक्ने भएकाले प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने माग गरे ।

जाहेरवालाको तर्फबाट जवाफी बहस गरेका अधिवक्ता स्वागत नेपालले पीडितहरूलाई ज्यानकै खतरा रहेकाले प्रतिवादीहरूलाई धरौटी वा साधारण तारेखमा रिहा गर्न नहुने जिकिर पेश गरे । अहिले पनि डरका कारण कतिपय पीडितले जाहेरी दिन समेत नसकेको उनको भनाइ थियो ।

शुरूमा सरकारी वकिल, त्यसपछि जाहेरवाला र प्रतिवादी पक्षका वकिलको बहस सकिएपछि शुक्रवार जवाफी बहस भएको हो । जवाफी बहस पनि सकिएपछि न्यायाधीश प्रेमप्रसाद न्यौपाने थुनछेक आदेशको तयारीमा जुटेका छन् ।