काठमाडौ । प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज मनाइँदैछ ।
देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर र खास गरी खिर खाएर आजको दिन मनाउने चलन छ ।
सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ ।
आज हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने परम्परा पनि छ ।
परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधीका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी आगो बालेर अगुल्टो फालिन्छ।
लुतो फाल्दा आआफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ ।
साउन महिनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ। यो महिना भरी माछामासु बार्ने समेत चलन छ । यस्तै महिलाले हरियो चुरा र मेहन्दी लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको छ ।