विराटनगर । नेकपा (एमाले) सुनसरी क्षेत्र नम्बर–१ मा महाधिवेशन प्रतिनिधि मनोनयन दर्ता गराउने क्रममा उमेदवारबीच कुटाकुट भएको छ ।
कोसी प्रदेशका पूर्वमुख्यमन्त्री भीम आचार्यका निजी सचिव तथा एमाले सुनसरी जिल्ला कमिटी सदस्य अनिल राजधामीमाथि पार्टीकै अर्को समूहले कुटपिट गरेको हो ।
कुटपिटबाट घाइते भएका राजधामीले अनुहारमा चोट लागेको र आफू यति बेला धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत रहेको बताए ।
धरानस्थित एमाले पार्टी कार्यालयनजिकै बिहीबार बेलुका युवा संघ कोसी इन्चार्ज दिवस राई, धरान उपमहानगरपालिका–१० का वडाध्यक्ष विवेक राईसहितको समूहले आफूलाई कुटपिट गरी गम्भीर घाइते बनाएको राजधामीले बताए ।
युवा कोटामा मनोनयनपत्र दर्ता गराएपछि फिर्ता लिन भन्दै दबाब दिइएको र नलिने अडान लिएका कारण आक्रमण गरिएको उनको भनाइ छ ।
राजधामी र दिवस दुवैले महाधिवेशनमा युवातर्फका प्रतिनिधिका निम्ति मनोनयनपत्र दर्ता गराएका थिए ।