स्वास्थ्य बीमाको झन्झट : वीपीमा जँचाउन अरु शहरका स्वास्थ्य केन्द्र घुम्नुपर्ने

न्युजलय ३१ असार २०८२, मङ्गलबार १२:५७ मा प्रकाशित

धरान । नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डले केही सरकारी अस्पतालको सुची जारी गर्यो । बीमाबाट उपचार गराउँदा पहिला कुन अस्पताल जाने र त्यहाँबाट रिफर लिएर कहाँ कहाँ जाने भनेर सुची प्रकाशन गर्यो । 


बीमा बोर्डका अनुसार पहिलो पटक उपचार गराउँदा (प्रथम सेवा विन्दु)नगर अस्पताललगायत तोकिएका साना अस्पतालमा जानुपर्छ । त्यसपछि त्यहाँबाट रिफर लिएर मात्र ठूला अस्पतालमा जान पाइन्छ । 


बीमा बोर्डका अनुसार पहिलो पटक जानुपर्ने अस्पतालहरु यी हुन् । 


अनि रिफर लिएर जान सकिने अस्पतालहरु यी हुन् । 


धरानको सन्दर्भमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर लिएर जान सकिन्छ । तर पहिलो पटक जँचाउने अस्पताल धरानमा छैन । 


धरानवासीले पनि दुहबी, इनरुवा, इटहरी, चतराका प्राथमिक स्वास्थ्य केन्द्र र अस्पतालमा गएर जँचाइसकेपछि मात्र रिफर लिएर वीपीमा जँचाउन पाइन्छ ।


बीमालाई व्यवस्थित गर्नको लागि सरकारले ल्याएको पछिल्लो नियमअनुसार यसअघि साना सामुदायिक स्वास्थ्य केन्द्र तथा अस्पतालमा पनि जँचाएर रिफर लिन सकिने व्यवस्था थियो । अब भने तोकिएको सरकारी स्वास्थ्य चौकी वा अस्पतालबाट मात्रै रिफर पाइने भएको छ । यसले ती अस्पताल र स्वास्थ्य केन्द्रमा भीड बढाउने देखिएको छ । 


स्वास्थ्य बीमा झन्झटिलो हुने गरेको, महँगा औषधीहरु नपाइने गरेको, बीमाअन्तगर्तका औषधीहरु गुणस्तरहीन हुने गरेको गुनासो सेवाग्राहीहरुको छ । त्यसैबिच सरकारले ल्याएको यो नीतिले थप झन्झट थपेको गुनासो गरिएको छ ।


किन पाएन धरानले नगर अस्पताल ?

धरानमा नगर अस्पताल बनाउनका लागि धरान उपमहानगरपालिकाले असहयोग र वेवास्ता गरेको कोशी प्रदेश सांसद यशोदा कायस्थले बताइन् ।


धरानको छाता चौकमा रहेको पुरानो अस्पताललाई नगर अस्पताल बनाउन गत चैत महिनामा आफूहरुले प्रधानमन्त्री, स्वास्थ्य मन्त्री र अर्थमन्त्रीलाई भेटेर प्रस्ताव गर्दा सकारात्मक जवाफ पाएपनि धरान उपमहानगरपालिकाले एउटा पत्रसमेत लेख्न नचाहेपछि धरानले नगर अस्पताल नपाएको हो । 


त्यसो त यसअघि नै पनि स्वास्थ्य मन्त्रालयले सबै स्थानीय तह नगरपालिकाहरूलाई प्रारम्भिक स्वास्थ्य अस्पताल बनाउन परिपत्र जारी गरेको थियो ।

तर उपमहानगरपालिकाले स्वास्थ्य मन्त्रालयको परिपत्र बेवास्ता गरिरह्यो । जसका कारण अहिले धरानवासी आन्दोनलमा उत्रिएका छन् । उनीहरुले वीपी प्रतिष्ठानबाटै पहिलाजस्तै प्रथम सेवा लिन पाउनुपर्ने माग गरिरहेका छन् भने धरानमा बेलैमा नगर अस्पतालको लागि पहल नगरेको भन्दै उपमहानगरपालिकाको आलोचना गरिरहेका छन् ।


धरानमा १ लाख ७८ हजारले स्वास्थ्य बिमा गराएका छन् ।


बिमाको सेवा निष्क्रिय गर्दै वीपी प्रतिष्ठान

यसै बिच बिपी प्रतिष्ठानले बिमाको सम्झौता नवीकरण हुन नसकेको भन्दै साउन १ गतेबाट स्वास्थ्य बिमाबाट सञ्चालित सम्पूर्ण सेवाहरू स्वतः निष्क्रिय हुने जानकारी गराएको छ । 


विज्ञप्तिमा नेपाल सरकारको स्वास्थ्य बिमा बोर्डले बिपी प्रतिष्ठानसँग २०७४ साउन १ देखि स्वास्थ्य बिमा कार्यक्रम सम्झौता गरेको गरेको थियो । प्रतिष्ठानले  बीमावापतको झन्डै साढे ७४ करोड बराबर भुक्तानी लिन बाँकी भएपछि सेवा बन्द गर्ने जनाएको हो ।