वर्ष ३७ की सुनमाया, १० वर्षे जनयुद्धकी एक घाइते योद्धा, जसले आफ्नो एउटा दायाँ हात गुमाउनु भएको छ भने बायाँ गालामा ग्रिनेटको छर्रा बोकेर बाँचिरहनु भएको छ। हाल उहाँ इटहरी उपमहानगरपालिका वडा नम्बर १९ मा बसोबास गर्नुहुन्छ।
दुई सन्तानकी आमा सुनमायाका दुई छोरा छन्—जसमध्ये एक जना कक्षा ९ मा अध्ययनरत छन् भने कान्छो छोरा कक्षा ५ मा पढ्दैछन् । श्रीमान् गणेश जि.मि. बन्दीपुरको आक्रमणमा घाइते हुनुभएको हो, अहिले मजदुरी गरेर जीविका चलाउनुहुन्छ ।
सुनमाया र गणेशको जनवादी विवाह जनमुक्ति सेनाको क्याम्पमै भएको हो। समायोजनको पैसाले उहाँले इटहरीकै वडा नम्बर १९ मा सानो जमिन किनेर टहरो हाल्नुभएको छ। गत वैशाखमा आएको हुरीले सुनमायाको एकपाखे घरको छानो उडाएर बिजोग बनायो।
नेपालमा नारी दिवस, तीजजस्ता चाडहरू भव्य रूपमा मनाइन्छन्, महिला अधिकारकर्मी र संघसंस्थाहरू प्रशस्तै छन्, तर सुनमायाजस्ता महिला योद्धाहरूतर्फ कहिल्यै ध्यान दिएका छैनन्।
यहाँसम्म कि साहित्यले पनि सुनमायाजस्ता वीर नारीहरूलाई अवमूल्यन गरेको छ, खिसी उडाएको छ । जबकि सुनमायाहरुलाई बिम्ब बनाई धेरै लेखक–कलाकार स्थापित भए । पूर्वकी कवि बहिनी सिमा आभासले 'युद्ध सङ्ग्रहालय' नामक कविता लेखेकि छिन् । जसमा यिनै योद्धाहरूमाथि व्यङ्ग्य गरेकी छन्। उनले भनेजस्तो, ‘सिरानीमा भगवानका तस्वीर राख्ने, गायत्री मन्त्र पढ्ने वर्गकी नारी’हरूले कहिल्यै व्यवस्थाविरुद्ध हतियार उठाएका छैनन्। सिमालाई मेरो चुनौती छ—सिर्फ १० दिन सुनमायाको भूमिकामा आफूलाई राखेर देखाऊ।
नारायण वाग्लेजस्तो लेखकले लेखेको पल्पसा क्याफे मात्र भएको थिएन महान जनयुद्ध । उत्पीडित वर्ग, दलित, मजदुर भनिएकाहरूलाई चेतनाको नाममा लतार्ने कलाकार प्रकाश सपुतले भने जस्तो देह व्यापारमा नै छन् क्रान्तिकारी महिलाहरु । यी साहित्यकारहरूले भने जस्तो छैनन् सुनमाया जस्ता महिलाहरु र सुनमायाका विचारहरू ।
अब मुख्य प्रसंगमा आउँछु । सुनमाया प्रदेश १ को सहिद स्मृति आवासीय विद्यालयमा कार्यरत हुनुहुन्थ्यो। तर उहाँलाई त्यहाँबाट निकालियो । वहाँ त्यहाँ सहिद स्कुलकै अभिभावक संघमा पनि हुनुहुन्थ्यो । तर स्कुल सुधारको आवाज उठाउँदा, स्कुलविरुद्ध बोलेको भन्दै उहाँलाई हटाइयो।
यो विद्यालय शहीदका छोराछोरी पढ्ने विशिष्ट विद्यालय हो । विद्यालयमा सुनमायाको कथा व्यथा बुझ्न सक्ने धेरै व्यक्तिहरू नै सञ्चालक समितिका छन् ।
विद्यालयकी संयोजक तथा प्रदेश स्कुल इन्चार्ज धर्मशिला चापागाईं स्वयम् सहिद परिवारकी हुन्। यस्तैगरी पूर्व कृषि तथा पशुपन्छी राज्यमन्त्री रामकुमारी चौधरी पनि व्यवस्थापन समितिमा छन्। तर पार्टीभित्रै एउटी महिलाले अर्की महिलामाथि गरेको व्यवहार अत्यन्तै खेदजनक छ।
स्थानियहरू भन्छन्—धर्मशिला स्कुललाई आफ्नो माइतीघर ठान्छिन्, स्कुलको पैसाले हवाइजहाज चढ्छिन् र रवाफ देखाउँछिन्। हो पनि—उनी अब पुरानी धर्मशिला होइनन्, सामन्ती संस्कारमा हुर्किएकीजस्ती देखिन्छन् । यो घटनाले पनि त्यस्तै देखायो ।
गएको होली पर्वमा विद्यार्थीहरूले स्कुल प्रशासन र व्यवस्थापन समितिले होली खेल्न नदिएकोमा ठूलो विवाद भयो । व्यवस्थापन समिति र प्रधानाध्यापकहरुलाई गेटबाट बाहिरै राखेर छिर्न पनि दिइएन । घटनापछि व्यवस्थापन समितिका अध्यक्ष मणिराम गिरीले राजीनामा दिए पनि केन्द्रले स्वीकृति दिएको छैन। स्वीकृत नहुनुको कारणबारे विद्यार्थीहरू भन्छन्—धर्मशिलाको पक्षमा अर्को व्यक्ति हुन सक्दैन । स्कुलकी प्र.अ. रिता फुयलले पनि राजीनामा दिनुपर्छ भन्ने आवाज छ। तर निर्देशन माथिबाट आएको भन्दै टारिएको छ ।
इटहरीमा संविधानसभा सदस्य अनिता परियार, प्रदेशसभा सदस्य सपना परियार, पूर्व उपसभामुख सरस्वती पोख्रेलजस्ता महिला नेत्रीहरू छन्। कमरेड गणेश प्रधान, पासाङ शेर्पा, प्रदीप श्रेष्ठजस्ता जनमुक्ति सेनाका पूर्व लडाकुहरू यहीँ छन्।
तर स्कूल सुधारौं भनेर कुरा उठाउँदा सुनमायालाई जागिरबाटै निकालियो । सुनमायाजस्तो महिलालाई आफ्ना सन्तानको पालनपोषण गर्न संघर्ष गर्न बाध्य पारियो । एउटै पार्टीभित्र पनि तिनै महिलाहरूको दिनचर्या यति फरक र विभेदपूर्ण हुन्छ भने त्यो पार्टीको चेतनामा प्रश्न उठाउनु स्वाभाविक हुन्छ।
र, त्यसमा पनि शहीद स्कूललाई सुधार गर्नुपर्ने आवश्यकता छ । केही व्यक्तिले धेरै भयो सहिद स्कुललाई कमाइखाने भाँडो बनाएको। उनीहरू सुध्रेनन् भने म ती सबै पात्रहरूको सूची तयार पारेर सार्वजनिक गरिदिनेछु । शहीदको सपना र नाम जोडिएको जे सुकैलाई गिजोल्नु हुँदैन । शहीदको सपनालाई गिजोल्नु हुँदैन । त्यो हामीलाई सह्य छैन ।
२०७९ साल वैशाख १८ गते, म आफ्नो छोरोलाई लिएर सुनमाया कमरेडको घर गएँ। म चाहन्थें मेरो छोराले यथार्थ नारीको संघर्ष देखोस्। नेताहरूको घात सहँदै गर्दा सुनमायाले बोल्नुपर्ने ठाउँमा बोल्न चाहिनन्, सकिनन् । उनलाई डर थियो— चेत गुमाएका मानिसहरूले फेरी भुङ्ग्रामा हाल्ने हुन् कि।
हिजो क्रान्तिका लागि सुनजस्तै थिइन् सुनमाया, आज भने पार्टीकै लागि तगारो बन्न पुगेकी छन्।
हिँड्ने बेलामा उनले भनिन्, 'कमरेड, तपाईँ जस्तो प्रष्ट बोल्ने कमरेड पनि हुनुहुन्छ, त्यसैले अलि चित्त बुझाउँछु ।'
त्यो सुनेपछि मेरो आँखा आँशुले भरिए ।