सरकारी कर्मचारी दुर्गममा जानै चाहेनन्, जबरजस्ती पठाउने तयारी

न्युजलय २१ साउन २०८०, आइतबार ०९:५१ मा प्रकाशित

काठमाडौ । सरकारी कर्मचारीहरुमा सुविधाभोगी प्रवृत्ति बढेको छ । सुगम जिल्लाका कार्यालय रोज्न थालेपछि दुर्गम क्षेत्रमा रहेका कार्यालयमा कर्मचारी अभाव देखिएको छ । 


हालै मात्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा निवेदन माग्दा परेको चार सय ५० निवेदनमध्ये सबैले सुगम क्षेत्र रोजेका छन् । सुगमबाट दुर्गममा जान चाहनेहरुको एउटै पनि निवेदन परेन ।


स्थानीय तह तथा दुर्गममा कर्मचारी अभावको समस्या समाधान गर्नको लागि निवेदन मागिएपनि दुर्गममा जान कोही पनि इच्छुक नदेखिएको मन्त्रालयले जनाएको छ । 


तर कर्मचारी दुर्गम जान अनिच्छुक भए पनि दुर्गम सरुवा गर्ने मन्त्रालयको तयारी छ । तीन वर्षभन्दा बढी समयदेखि कार्यरत कर्मचारीलाई सरुवा गर्ने तयारी गरिएको छ ।