इटहरी । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा) मा सुनसरीको इटहरी उपमहानगरपालिकाले उपमहानगरपालिकाहरुमध्ये छैठौं स्थान हाँसिल गरेको छ । नेपालमा ११ वटा उपमहानगरपालिकाहरु छन् ।
नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को नतिजामा इटहरी ८० अंकका साथ छैठौं भएको हो । अघिल्लो वर्ष इटहरीले ७९.२५ अंक ल्याएको थियो ।
यस्तै धरान उपमहानगरपालिका आठौं भएको छ । धरानले ७७.५ अंक ल्याएको छ । धरानले अघिल्लो वर्ष ७०.७५ अंक ल्याएको थियो ।
उपमहानगरपालिकाहरुमध्ये ८८.५ अंक प्राप्त गर्दै बुटवल पहिलो, ८७ अंकसहित घोराही दोस्रो, ८६.२५ अंकसहित हेटौँडा तेस्रो, ८४ अंकसहित धनगढी चौथो, ८२ अंकसहित नेपालगञ्ज पाँचौँ स्थानमा छ भने ८० अंकसहित इटहरी छैटौँ स्थानमा छ ।
यस्तै ७९ अंकसहित तुलसीपुर सातौँ, ७६.५ अंकसहित कलैया नवौं, ६५.२५ अंकसहित जितपुर सिमरा दसौँ र ५०.२५ अंकसहित जनकपुर एघारौं स्थानमा छ ।
पालिकाको कार्यसम्पादनसँग सम्बन्धित १० वटा विषयगत क्षेत्रहरुको मूल्यांकनको आधारमा यसको नतिजा प्रकाशन गरिन्छ । जसमा शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, विषयगत बजेट तथा योजना व्यवस्थापन, वित्तीय तथा आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण तथा विपद् व्यवस्थापन र सहकार्य तथा समन्वय छन् ।