काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणबाट बेलायतमा मृत्यु हुनेको संख्या १२ पुगेको छ । अत्यधिक संक्रामक मानिएको ओमिक्रोन भेरियन्टबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।
अमेरिकामा पनि ओमिक्रोन भेरियन्टको संक्रमणबाट एक जनाको मृत्यु भएको पुष्टि भएको छ । यो सरकारी तथ्यांकमा आएकाहरुको संख्या मात्रै हो ।
ओमिक्रोन भेरियन्टबाट संक्रमित भएका दजर्नौं नागरिकहरु अहिले अस्पताल भर्ना भएका छन् । अमेरिकामा नयाँ थपिने संक्रमितहरुको संख्यामा डेल्टा भेरियन्टलाईपछि पार्दै ओमिक्रोन प्रमुख भेरियन्ट बनिसकेको छ ।
अहिले युरोपेली एवं पश्चिमी मुलुकहरुले क्रिसमसको नजिक ओमिक्रोनको संक्रमण झनै बढ्ने चिन्ताका कारण कडाइका नियमहरु लागु गरिरहेका छन् ।
भारतमा समेत ओमिक्रोन भेरियन्टबाट २ सय भन्दा बढी जना संक्रमित भइसकेका छन् । चीनमा समेत ओमिक्रोनको संक्रमण फैलिसकेको छ ।
नेपालसमेत ओमिक्रोनको संक्रमण फैलिन उच्च जोखिममा रहेको छ ।